आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव; ‘बजेटमा नयाँपन देखिन आवश्यक’

Budgetकाठमाडौँ, वैशाख ३० गते । जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिनुभएको थियो ।

समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिँदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अगाडि सारेका सन्दर्भमा पर्यटन, कृषि, ऊर्जा, जडीबुटी र जंगलमा विशेष लगानी गर्नुपर्छ भन्दै उहाँहरुले वास्तविकतामा आधारित बजेट जरुरी रहेको बताउनुभयो ।

सत्तापक्षका सांसदले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाउनुभएको थियो भने प्रतिपक्षी दलका सांसदले भने वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव आएको गुनासो गर्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेताले भाषण मात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान चलाउनुपर्छ । बजेट पूर्णरुपमा कार्यान्वयन गर्नुपर्छ ।”

उहाँले ठूला कार्यक्रमलाई जोड दिएर यथेष्ट बजेट उपलब्ध गराउन माग गर्नुभयो । माओवादी केन्द्रका कमला रोकाले आधा धर्ती र आधा आकाश ढाकेका महिलाको हितमा बजेट आउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्नेखालको बजेट जरुरी छ । संसद्मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट जरुरी छ ।”

एमालेकै भानुभक्त ढकालले समाजवादी अर्थव्यवस्थाको आधार तयार पार्नेखालको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दोषारोपण गर्नुभयो । काँग्रेसकै दिलेन्द्रप्रसाद बडूले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसका प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ः०० बजे बस्नेछ । रासस

‘बजेटमा नयाँपन देखिन आवश्यक’

राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ ।

आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सांसद खिमलाल भट्टराईले सार्वजनिक क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउने र स्वाधीन अर्थतन्त्रको विकासमा ध्यान दिएर बजेट बनाइनुपर्ने बताउनुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले ‘श्वेतपत्र मुलुकको अर्थतन्त्रलाई आतंकित तुल्याउने ढंगबाट ल्याइएकाले’ बजेटका बेला त्यसलाई सुधार्न आवश्यक रहेको बताउँदै कृषिलाई व्यवसायीकरण गर्ने पक्षमा बजेट आउनुपर्ने बताउनुभयो ।

सांसद कालीबहादुर मल्लले राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउन सुझाव दिनुभयो । सांसद रामनारायण बिंडारीले मुलुकमा नयाँ शासन नयाँ भएसँगै बजेटमा पनि नयाँपन देखिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सांसद हरिराम चौधरीले व्यावहारिक रुपमा कार्यान्वयन हुन सक्ने र नेपाली ढाँचाको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । सांसद कोमल ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने आधार तयार पार्दै कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा बजेट यथेष्ट उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले मुलुकलाई आत्मनिर्भर गर्न खानी उत्खननका लागि नीति र बजेटको व्यवस्था गर्न सुझाव दिनुभयो । आजको बैठकमा सदस्य बृशेषचन्द्र लाल, अगम वान्तवा, रमेशजंग रायमाझी, राजकुमार कुँवर, अनिता देवकोटा, हरिराम चौधरी, तारादेवी भट्टलगायतले जनताको भावना समेटेर बजेट ल्याउन र सांसद विकास कोषमा बजेट छुट्याउँदा राष्ट्रियसभाका सदस्यका लागि पनि विनियोजन गर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहान ११ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter