मःमः बेचेर मासिक तीस हजार बचत

Momoझापा, जेठ ४ गते । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ ।

मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुनुहुन्छ । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिनुभएका उहाँ दुबैपटक अनुत्तीर्ण हुनुभयो । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भन्नुभयो ।

दुई पटकको असफलतापछि उहाँले विर्तामोडमा मःमः फर्म खोल्नुभयो । सो फर्मले उहाँलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उहाँको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ । विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उहाँले ‘उरी मःमः फर्म’ खोल्नुभएको छ । उहाँले कोरियन भाषाबाटै फर्मको नाम उरी राख्नुभएको हो ।

‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राख्नुभयो । उक्त फर्मबाट उहाँको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गर्नुभएका रिजालले अहिले १२ जनालाई रोजगार दिनुभएको छ ।

“मासिक रु ३० हजार बचत हुन्छ,” उहाँले भन्नुभयो ।

विर्तामोडसहित झापाका विभिन्न बजारमा उहाँले मःमः बनाएर बिक्री गर्नुहुन्छ । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उहाँका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दैआएका छन् ।

“साथीहरुलाई बेलाबेलामा ऋण दिने गरेको छु, फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ,” उहाँले भन्नुभयो ।

कोरिया जान तयारी गर्ने क्रममा काठमाडाँैं घुम्दै गर्दा मःमः बिक्री गरेको देखेपछि रिजाल सो व्यवसायप्रति आकर्षित हुनुभएको हो । त्यसपछि उहाँले झापा फर्केर उक्त व्यवसाय शुरु गर्नुभएको हो । “आफू त स्वरोजगार बनेँ, अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो ।

रिजालले सञ्चालन गरेको उरी मःमः फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःमः सुरुङगाको सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालवारी लगायतका पर्यटकीयस्थलमा तथा जिल्लाका विभिन्न ठाउँका विद्यालयमा बिक्रीका लागि पठाउने गर्नुहुन्छ ।

“दैनिक करिब एक हजार प्लेट मःमः तयार हुन्छ,” उहाँले भन्नुभयो । रिजालले प्रतिप्लेट काँचो मःमः रु २८ बिक्री गर्नुहुन्छ । पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा तथा उत्तरमा शनिश्चरेका अधिकांश होटलमा उहाँको फर्ममा तयार भएको मःमः बिक्री हुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ ।

रु तीन लाखबाट उक्त व्यवसाय शुरु गर्नुभएका रिजालले अहिले मनग्य आम्दानी गरेको देखेपछि सो व्यवसायप्रति आकर्षण बढेको छ । व्यवसाय फष्टाउँदै गएपछि उहाँले पिठो मुछ्नेदेखि किमा तयार पार्ने मेसिन समेत राख्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter