कलङ्किको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

Kathmandu Ring Roadकाठमाडौँ, जेठ ९ गते । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।

कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

असार दोस्रो सातासम्म कलङ्की–बाफल भागको ४०० मिटर ‘फिनिसिङ’ को काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो ।

यो संगै कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमिको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

“कोटेश्वर–बल्खुपुलको सबै काम सम्पन्न भएको छ, बल्खुपुलबाट कलङ्कीसम्म सडक विस्तार अन्तिम चरणमा पुगेको छ, मंसिरसम्म सबै काम सकेर सडक हस्तान्तरण हुन्छ”–उहाँले भन्नुभयो ।

चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोस्रोचरणमा कलङ्कीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको किनारका संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो ।

साउनसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । त्यस लगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ ।

२८ किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter