गण्डक बाँध बनेपछि जलचर संरक्षण कठिन

gandak

चितवन, असार १९ गते । त्रिवेणीमा रहेको गण्डक बाँधका कारण नेपालमा हुर्काइएका जलचरहरु भारत जाने तर फर्किन नसक्ने हुँदा संरक्षणमा कठिनाइ भएको छ ।

राप्ती र नारायणी नदीमा हुर्काइएका घडियाल गोहीसँगै माछा पनि पानीको बहावका कारण भारततर्फ जाने गर्छन् तर ती जलचर बाँधका कारण फर्किन सक्दैनन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सन् १९६४ मा बाँध बनेपछि यहाँका गोही र माछाहरु भारततर्फ जाने तर फर्किन नसक्ने हुँदा तिनको संख्या वृद्धि हुन नसकेको हो । उहाँका अनुसार हालसम्म नारायणी नदीमा ३९९ र राप्ती नदीमा ६८५ वटा घडियाल गोही छाडिसकिएको छ । पछिल्लो गणनाअनुसार यी दुई नदीमा १६६ वटा गोहीमात्रै फेला परेका छन् । वर्षेनी दुवै नदीमा गरी करीब २० वटा गुँडमा घडियालले अण्डा पार्दै आएको छ । तीमध्ये आधा अण्डा संकलन गरेर प्रजनन केन्द्रमा लगिने भए पनि आधा नदीमै छोड्ने गरिन्छ । ती अण्डाबाट पनि घडियालका बच्चा जन्मिने गर्छन् तर पनि गोहीको संख्या बढ्न नसक्नुको मुख्य कारण बाँधबाट भारततर्फ गएका गोही फर्किन नसेकेकैले हो उहाँले भन्नुभयो।

सहायक संरक्षण अधिकृत खड्काले बाँध बन्नुअघि नारायणी नदीमा मात्रै २३५ गोही थियो । त्यतिबेला राप्ती नदीमा गोही थिएनन् । भारतका नदी लामा हुने भए पनि नेपालमा रहेका नदी छोटा छन् । जसका कारण गोहीलाई आवश्यक मात्रामा घुमफिर गर्ने स्थान अभाव भएको उहाँको भनाइ थियोे ।

गोही गर्मी मौसममा माथितिर र जाडो मौसममा तलतिर जाने गर्छ । राप्ती र नारायणी नदीको भङ्गालासहित करिव १७५ किलोमिटर भागमध्ये केही क्षेत्र गोहीका लागि उपयुक्त छैन । भारतका नदीमा गरिएका अध्ययनमा एउटा गोही एक हजार किलोमिटरसम्म हिँडेको पाइएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५ मा पटना जुबाट एउटा गोही ल्याएर गण्डक नदीमा सेटेलाइट ट्याग लगाएर छोडिएकामा सो गोही एक महिनामा एक हजार किलोमिटर हिँडेर पश्चिम बंगाल पुगेको थियो ।”

त्यस्तै यहाँ हुर्काइएका गोही पनि गण्डक नहर हुँदै नेपालकै बारा जिल्लाको कलैयामा भेटिएको थियो । संकटापन्न अवस्थामा रहेको गोही हुर्काउन निकै कठिन हुनेगर्छ । हुर्काएर छाडिएका गोही पनि गण्डक बाँधबाट भारततर्फ गएपछि नफर्किंदा उपलब्धि नदेखिएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।

नेपालमा हालसम्म एक हजार ३६५ गोही नदीमा छाडिएको छ । जसमध्ये सबैभन्दा बढी राप्ती ६८५, नारायणी ३९९, कालीगण्डकी ३५, सप्तकोशी ९५, कर्णाली ४१ र बबईमा ११० वटा छाडिएको छ । सन् २०१६ को गणनाअनुसार देशभरका नदीमा १९८ गोही छन् । जसमध्ये राप्ती र नारायणीमा १६६ रहेका छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter