अध्यक्ष दाहालद्वारा विभिन्न सडकको शिलान्यास

Puspa Kamal Dahal

चितवन, असार २९ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज यहाँ छुट्टाछुट्टै विभिन्न सडकको शिलान्यास गर्नुभयो ।

शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगर क्षेत्रमा ठेक्का लगाइएका रिङरोड र लिङक रोडको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको सबै सडक आयोजना
चितवन क्षेत्र नं. ३ मा पर्दछन् । जहाँबाट दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

शिलान्यास गरिएका सडकमध्ये भरतपुरको गोन्द्राङदेखि वडा नं. २२ र २३ को सीमा क्षेत्रसम्म छ दशमलव पाँच किलोमिटर रिङरोडको निर्माणका लागि रु २४ करोड चार लाख एक हजार ४७८ मा ठेक्का दिइएको छ ।

यसैगरी कैलाशचोकदेखि चनौली बजारसम्म तीन दशमलव ४७२ किलोमिटर लिङकरोडका लागि रु ११ करोड १४ लाख ९१ हजार १५, महेन्द्रचोकदेखि तेलौली रोडसम्म छ दशमलव ६४१ किलोमिटर सडक रु १८ करोड ३३ लाख ४० हजार ९४ मा ठेक्का दिइएको हो ।

त्यस्तै पुलचोकदेखि रामघाटसम्म एक दशमलव ९०८ किलोमिटर रिङरोड सडक र महेन्द्रचोकदेखि तेलौलीसम्मको नौ दशमलव एक सय किलोमिटर सडकका लागि शहरी विकास मन्त्रालयले रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । तीमध्ये महेन्द्रचोकदेखि तेलौलीसम्मको सडक निर्माणका लागि रु ३६ करोड ५९ लाख २१ हजार ५१२ मा ठेक्का दिइएको जनाएको छ ।

यसैगरी सोही सडकको दोस्रो खण्डअन्तर्गत तीन दशमलव ५६० किलोमिटर सडकका लागि रु नौ करोड ६९ लाख ११ हजार ४६६ मा ठेक्का दिइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

प्रमुख दाहालका अनुसार, डेरीचोकदेखि अतिथि पार्टी प्यालेसम्म एक दशमलव एक सय किलोमिटर सडकका लागि रु दुई करोड ८७ लाख ६७ हजार ५३६, नारायणगढ दियालो रोडको ७७० मिटर सडकका लागि रु तीन करोड ८२ लाख ७६ हजार ६२२, शिवनगरदेखि जानकी चोक हुँदै पकडी रोडसम्म सात दशमलव ७१ किलोमिटर सडकका लागि रु १६ करोड २३ लाख ९४ हजार ९९९ र शहीद चोकदेखि कचपचे चोकसम्म तीन दशमलव १०८ किलोमिटर सडकका लागि रु १८ करोड ६३ लाख ७९ हजार ७८१ मा ठेक्का दिइएको छ ।

यसैगरी मुक्तराज चोकदेखि २५ नं. वडा कार्यालयसम्म नौ दशमलव ५३९ किलोमिटर सडकका लागि रु २७ करोड ३५ हजार ७९८ र पुलरचोकदेखि गंगानगरसम्म दुई दशमलव ९२६ किलोमिटर सडकका लागि रु आठ करोड २२ लाख ७८ हजार ५८८ मा ठेक्का दिइएको प्रमुख दाहालले बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले सघन सहरी विकास कार्यक्रमअन्तर्गत विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताउनुभयो ।

कालोपत्रे गरिने ५९ किलोमिटर सडकमध्ये दायाबाया गरी विभिन्न सडकमा ३० किलोमिटर ढल समेत रहेको उहाँले बताउनुभयो ।

बहुवर्षिय आयोजनाअन्तर्गत रहेका ती सडकहरू २०७७ को असार मसान्तसम्ममा काम सक्नुपर्ने गरी ठेक्का लगाइएको हो ।

अब समृद्धिको युगः अध्यक्ष दाहाल

सो अवसरमा अध्यक्ष दाहालले अबको युग विकास र समृद्धिको युग भएको बताउँदै राजनीतिक स्थायित्वलाई विकाससँग जोडर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“अब राजनीतिक मुद्दा सकिएको छ,” उहाँले भन्नुभयो,“अबको दशक विकासको दशक भएकाले यसका लागि सबै एक जुटभएर लाग्न सक्नुपर्दछ ।”
अध्यक्ष दाहालले अहिलेसम्म राजनीतिक परिघटना ल्याईएको हो भन्दै अब विकासका असाधारण परिघटना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अनसनरत डा. गोविन्द केसीप्रति आवश्यक लचकता अपनाएर वार्ता गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले फुजेल घटनामा न्यायालयको फैसलाको सम्मान गर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो विचारमा छविलाल निर्दाेष छन्, केही दिनभित्र निर्दाेष सावित हुन्छन् ।”

शहरी विकासमन्त्री महमद इस्तियाक राइले भरतपुर महानगरपालिकालाई नमूना बनाउन सरकारले सक्दो सहयोग गर्ने बताउँदै शिलान्यास भएका रिङ रोड र लिङक रोडले गाउँलाई शहरसँग जोड्ने छ भन्नुभयो ।

विकासका कार्यमा सबैले हातेमालो गर्न सके विकासले गति लिने उहाँको भनाइ थियो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रराज शर्मा, सांसद उमा रेग्मी, नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाहलगायतले विकास निर्माण कार्यमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter