चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

Nepal_widebody

काठमाडौँ, साउन १० गते । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो ।

जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई ।
भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो । आन्तरिक उडानमा निगमका जहाज कम थिए । तर अहिले अवस्था फेरिएको छ । आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको छ ।
थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो ।
निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । यसले निगमप्रति विगतमा गर्ने खिसीटिउरीको अवस्थाको समेत अन्त हुनेछ । त्यसका लागि सरकार र निगम व्यवस्थापनले व्यावसायिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।
चुहावट नियन्त्रण र जहाज खाली उडाउने भनेर विगतमा गरिने प्रचारबाट निगमले सुधार गर्नु जरुरी छ ।
देशको राष्ट्रिय ध्वजावाहक निगमले भित्र्याउने नयाँ जहाजको रणनीतिक महत्वलाई आत्मसात् गर्दै निगमको जहाज नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्नेछ ।
दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ ।
फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो । जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।

वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो ।

विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्ने तयारीमा छ । यही साउन ७ गते निगमको जहाजले भारतको राजधानी नयाँ दिल्लीमा परिक्षण उडान गरेको थियो । आज अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आगामी चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ ।

जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भन्नुभयो ‘ दुई वटा वाइड बडी विमान आइसकेको छ । ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ । त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ ।’

आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उहाँले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताउनुभयो ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताउनुभयो ।

‘पहिलो बाइड बडी जहाजको उडान अनुमति आज भोलि नै हुन्छ । सबै कागजात बुझाइसकिएको छ । परिक्षण उडान समेत भइसकेको छ ’ महाप्रबन्धक कसांकारले भन्नुभयो “आज अवतरण भएको जहाज बढीमा चार हप्ता भित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ ।” केही समय दुवै विमान पुरानै गन्तव्यमा उड्ने र क्रमशः नयाँ गन्तव्यका लागि समेत तम्तयारी अवस्थामा रहेको महाप्रबन्धक कसांकारको भनाइ छ । निगमसँग १३ वटा विमान रहेका छन् ।

चालक व्यवस्थापन गरिदै

निगमका अनुसार दुई वटा वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी कूल ११६ जना चालक जरुरी पर्दछ । हाल निगमसँग ८८ मात्र चालक छन् । थप २८ चालक सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ ।

निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति समेत लिइएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकेको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि नविन प्रविधि जडानमा जोड दिइएको छ ।

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको भनाइ छ ।

निगमले भारतको नयाँदिल्ली, बेङ्गलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यी मध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter