काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

Garbage

काठमाडौंँ, साउन १२ गते । तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ ।

केही दिन अघि मात्र करीब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ । पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गएको छ । यसरी समस्या बढ्दै जाने हो र उपयुक्त व्यवस्थापनको पहल सम्बन्धीत निकायले नगर्ने हो उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने बताउनुभयो ।

बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ ।

आजैबाट बन्चरेडाँडालाई दीर्घकालीनरुपमा फोहर राख्ने स्थान बनाउन काम शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक छ । सिसडोलमा करीब ४०÷५० मिटरमाथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर बिसर्जन नगरिने भएको छ ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकोमा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । हालसम्म पनि विगत वर्षका बजेट वक्तव्यमा तीन वर्षभित्र सम्पन्न गरिने भनिएता पनि बजेटको सुनिश्चिता हुन सकेको छैन ।

काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापनको लागि लगानी बोर्डबाट प्रक्रिया अघि बढाइएको निजी विकासकर्तासँग प्रारम्भिक सम्झौता भएको चार महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुन सकेको छैन ।

गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन । ज्ञवालीका अनुसार यसको पूर्णरुपमा निर्माण गर्ने काम काठमाडौँ महानगरपालिकाको हो । निर्माणको लागि कामपाले पहल आजैबाट शुरु गर्नुपर्ने छ । अन्यथा फोहरको कारण अत्यन्तै ठूलो समस्या आउँछ ।

यता काठमाडौँ महानगरपालिकाले भने दीर्घकालीनरुपमा फोहर राख्ने स्थान बन्चरेडाँडा निर्माणको काम केन्द्र सरकारको हो भन्दै आएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालले केन्द्र सरकारसँग समन्वय गरेर निर्माण काम छिटो शुरु गर्ने जानकारी दिनुभएको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter