विपद्पछिको उद्धार कार्य भरपर्दो नहुँदा जनधनको ठूलो क्षति – विज्ञ

Nepal_diaster

काठमाडौँ, साउन २१ गते । नेपाल बाह्रैमास कुनै न कुनै खालको प्राकृतिक विपदको उच्च जोखिममा रहेको भए पनि पूर्वतयारी तथा विपद्पछिको उद्धार कार्य भरपर्दो नहुँदा ठूलो जनधनको क्षति हुने गरेकोतर्फ राज्य र आम नागरिक सचेत बन्न नसकेको सम्बन्धित विज्ञले बताएका छन् ।

नेपाल सहभागीमूलक कार्यसमूह (नेपान) ले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलसम्बन्धी अन्र्तक्रियामा विपद्विद् डा मानबहादुर थापाले नेपालभन्दा पनि बढी जोखिममा रहेका मुलुकहरुले पूर्वतयारी र विपद्पछिको उद्धार कार्य प्रभावकारी संयन्त्र तयार गरेकाले ठूला विपद्को अवस्थामा पनि कम जनधनको क्षति भएको विभिन्न देशहरुको उदाहरण प्रस्तुत गर्नुभयो ।

नेपालमा हरेक वर्ष आगलागी, चट्याङ, बाढी, पहिरो, आँधीवेहरी, भूकम्प, महामारी, असिना, शीतलहरजस्ता करिब ५०० प्रकारका प्राकृतिक विपद्का घटना हुने गरेको र यसबाट झण्डै ९०० जनाको मृत्यु तथा पाँच लाख मानिस प्रत्यक्ष प्रभावित बन्ने गरेका छन् ।

विपद् रोक्न नसकिए पनि विपद्को जोखिम घटाउन सकिने बताउँदै उहाँले विपद्ले विकासको अभियानलाई पछाडि धकेल्ने मात्र नभई नयाँ अवसरहरु पनि प्रदान गर्ने भएकाले यसतर्फ ध्यान दिनु पर्दछ भन्नुभयो ।

एशियाली विपद् पूर्वतयारी केन्द्रका नेपाल प्रतिनिधिसमेत रहनुभएका थापाले विकास र विपद् एउटै सिक्काका दुई पाटा भएकाले गरिबी निवारण गर्न विपद्लाई पन्छाएर सम्भव नहुने धारणा राख्नुभयो । सामाजिक, आर्थिक र वातावरणीय पक्षसँग दिगो विकासका लक्ष्यहरु सम्बन्धित रहेको र विपद्ले यी तीनवटै क्षेत्रलाई प्रभावित गर्ने हुँदा ती लक्ष्यहरु प्राप्तिका लागि विपद् न्यूनीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

विपद्बाट गरीब, जेष्ठ नागरिक, शारीरिकरुपमा अशक्त व्यक्ति, महिला र बालबालिका बढी प्रभावित हुने भएकाले उनीहरुमा सचेतना र क्षमता अभिवृद्धि गर्नुपर्नेमा विपद्विद् थापाले जोड दिनुभयो ।

उहाँको कार्यपत्रमाथि जलवायु विशेषज्ञ मधुसुदन गौतम र जैविक विविधता विज्ञ राजेन्द्र खनालले टिप्पणी गर्दै विपद् व्यवस्थापनको छुट्टै योजना बनाउनुभन्दा स्थानीय विकासका हरेक योजनाहरुमा विपद्को सवाललाई एकीकृत गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेपानका अध्यक्ष चेतनाथ कणेँलले लामो गृहकार्यपछि सरकारले विपद्सम्बन्धी ऐन ल्याएको र सो ऐनअुसार तत्काल सरोकारवालाबीच छलफल गरी राष्ट्रिय विपद् प्राधिकरण गठन गर्न आग्रह गर्नुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter