राष्ट्रियसभा – हलिया व्यवस्थापन माग

Haliya

काठमाडौँ, साउन २३ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा विशेष समयमा सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गर्नुभयो ।

सरकारले हलियालाई रु तीन लाख र घर मर्मतका लागि रु एक लाख दिने व्यवस्था गरेको भए पनि सरकारी कर्मचारीले सोही रकममा समेत घुस मागेको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो ।

सांसद स्नेहीले घुस माग्ने सरकारी कर्मचारीलाई कडा कारवाही गर्न माग गर्नुभयो । सांसद जीतेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको उचित छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा प्रश्न उठेपछि त्यसलाई परीक्षण गर्नुपर्नेमा त्यसो नगरेर बहुमतको बलमा संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकोमा उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “जोशीले समेत आफ्नो प्रमाणपत्र छानबिन गर्न माग गर्नुभएकाले तत्काल छानबिन गरी सत्यतथ्य जानकारी गराउनु पर्दछ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्नुपर्छ ।”

राजनीति गणितका आधारमा नचल्ने भन्दै सांसद देवले राजनीतिलाई गणितको आधारमा नचलाउन आग्रह गर्नुभयो । सांसद वृजेशचन्द्र लालले तराई मधेशका नागरिकले नागरिकता नपाएकोमा गुनासो गर्नुभयो ।

सांसद विमला राई पौडेलले कञ्चनपुरमा पटकपटक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै सरकारले कुनै पनि अपराधका बारेमा जानकारी नदिएको भन्दै गुनासो गर्नुभयो ।

उहाँले बलात्कारको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । बलात्कार गर्नेलाई कडा कारवाही गर्न आग्रह गर्दै उहाँले विद्यमान कानूनमा सजाय कम भएकाले जन्मकैदको व्यवस्था गर्न सुझाव दिनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले गत शनिबार जाजरकोट जिल्लामा पहिरोमा परी नौ जनाको निधन भएको भन्दै अव्यवस्थित तवरले निर्माण गरिएका सडकका कारण पहिरो आउने क्रम बढ्दै गएको सदनलाई जानकारी गराउनुभयो ।

उहाँले निर्माण व्यवसायीको लापर्वाहीका कारण जाजरकोट–जुम्ला सडकखण्ड अवरुद्ध भएको, जाजरकोट–डोल्पा जोड्ने सडकखण्डमा समेत निर्माण व्यवसायीले ज्यादती गरेको र पहिरोको कारण समस्या पैदा भएको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गर्नुभयो ।

अर्का सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन माग गर्दै काँडाघारीमा पछिल्लो पटक निशान खड्काको हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारेमा पनि उचित जवाफ गृहमन्त्रीले दिनुपर्ने माग गर्नुभयो ।

सांसद रामलखन चमारले नवलपरासीको गण्डक नहरका कारण भएको कटान, डुबानका कारण स्थानीयवासी समस्यामा परेको, समस्या समाधानका लागि पहल नभएको भन्दै गुनासो गर्नुभयो । गण्डक नहरका सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न भारत सरकारले तदारुकता नदेखाएको भन्दै सांसद चमारले सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गर्नुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter