बिम्स्टेक महासन्धि अनुमोदित; सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

Nepal Parliamentकाठमाडौँ, भदौ ४ गते । प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ ।

सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदलिएको छ भन्दै सो सम्बन्धमा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्यको समान धारणा बनाउनका लागि महासन्धि जरुरी रहेको बताउनुभयो ।

साङ्गठनिक अपराध र लागुऔषधको कारोवार नियन्त्रणका लागि अभिसन्धि जरुरी छ भन्दै उहाँले शिखर सम्मेलन(भदौ १४–१५)अगावै पारित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । महासन्धिले राष्ट्रिय मुक्ति आन्दोलनलाई हेर्ने विषयमा भन्नेमा बाधा नहोस् भन्नेमा सरकार गम्भीर रहेको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले खुला सिमानालाई नियमन गर्ने विषयमा विशेष ध्यान गएको उल्लेख गर्दै उहाँले विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने विषयमा पहलकदमी लिने विश्वास दिलाउनुभयो ।

बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्याेट विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । यसैगरी गृहमन्त्री थापाले नै प्रस्तुत गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । मन्त्री यादवले नै सदनमा ‘जनस्वास्थ्य विधेयक, २०७५’ तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ पेश गर्नुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको ‘राहदानी विधेयक, २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘निवृत्तभरण कोष विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिको सम्मेलन गर्नेसम्बन्धी प्रस्ताव’ पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते अपराह्न १ बजे बस्नेछ । रासस

सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राख्नुभयो ।

सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पु¥याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन भन्ने प्रश्न पनि गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिन पहिले गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई निजगढ विमानस्थलमा सरुवा गरेको थियो । सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशङ्का जन्माएको उल्लेख गर्नुभयो ।

कर बोझ
सांसद पम्फा भुसाल र दुर्गा पौडेलले देशव्यापी रुपमा अनावश्यक करको बोझ बढेका कारण जनताले दुःख पाएको भनी गुनासो गर्नुभयो । करको दायराभित्र गरीब परेका छन् भन्दै उहाँहरुले कुन निकायले कस्तो कर लगाउने भन्नेमा स्पष्ट निर्देशन दिन आग्रह गर्नुभयो ।

सांसद भुसालले पनि स्वेच्छिक रुपमा तिर्नुपर्ने करलाई जबर्जस्ती बढाइएको र साना व्यवसाय गर्नेलाई समेत कर लगाएर पेशाबाट विस्थापित हुने अवस्था आएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद उमाकान्त चौधरीले गाउँगाउँमा सिंहदरबारको नारा लगाएर निर्वाचनमा सफलता हासिल गरिए पनि पछिल्लो समयमा करका कारण गाउँमा ‘सिंह’ मात्रै आएको तर ‘दरबार’ नआएको भन्दै गुनासो बढेको बताउनुभयो । सांसद प्रमोद साहले पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि भएका कारण नागरिकको दैनिक जनजीवन प्रभावित भएकामा आपत्ति जनाउनुभयो ।

बाढीपहिराबाट मार

सांसद नारायणप्रसाद खतिवडाले केही दिन पहिलेको बाढीपहिराका कारण पासाङल्हामु राजमार्ग प्रभावित भएको र यातायात आवागमनमा समेत प्रभावित भएको बताउँदै राजमार्ग पुनःनिर्माणमा ध्यान दिन ध्यानाकर्षण गराउनुभयो । उहाँले भूकम्पले भत्काएका नुवाकोटका पुरातात्विक सम्पदाको पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति पनि आपत्ति जनाउनुभयो ।

सांसद लालबहादुर थापाले वर्षाका कारण जमीन भासिने, पहिरो आउनेजस्ता प्राकृतिक प्रकोपका कारण बाजुरा, बझाङलगायत जिल्लाका बासिन्दा प्रभावित भएको, पीडितले राहत नपाएको र खुला आकाशमा रात काट्नुपर्ने अवस्था आएको छ भन्दै राहतको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

सभामुखको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले कर तथा कृषकसँग सम्बन्धित विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले सदन र सरकारको पटक पटक ध्यानाकर्षण गराएपछि उहाँले आफ्नो पनि ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको थियो । रासस

 

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter