आज घटस्थापना; दशै मनाउन उपत्यकाबाट १० लाख बाहिरिए

Dashain Tikaकाठमाडौँ, असोज २४ गते । बडादशैँको सुरु दिन बुधवार सर्वसाधारणले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भूइँलाई गाइको गोवरले लिपेर चोखो पारी चोखो वालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी भिँगुट, टपरी, माटो वा तामाको भाँडामा गोवर टाँसेर जौ र गहुँ मिसाएर जमरा राखिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार विहान ७ः१५ बजे घटस्थापनाको शुभ साइत छ । कसैकसैले भने घटस्थापनाको भोलिपल्ट चन्द्रमाको दर्शन गरेर मात्र घटस्थापना गर्ने चलन पनि रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ ।

घटस्थापना गरिएको स्थानमा आह्वान गरिएको देवी कात्तिक २ गते ९ः३९ बजे विसर्जन गरेर यही दिन विहान ९ः५१ बजे टीका लगाउँदा शुभ रहेको सदस्यसचिव ढुङ्गेल बताउनुभयो ।

घटस्थापनादेखि विभिन्न शक्तिपीठमा महानवमीसम्म नवरात्र मेला आयोजना गरी देवी भगवतीको स्तुति गरिँदै छ । नवलपरासीको पाल्टी भगवती, ताप्लेजुङ्को पाथीभरा, वाग्लुङ्को नृसिंह भगवती, पाँचथर यासोक बजारको देवीस्थान, नुवाकोटको जालपादेवी, हेटौँडाको भुटनदेवी, गोरखा मनकामना, पाटनको पूर्णचण्डी, नालाको उग्रचण्डी र काठमाडौँको गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, नरदेवी, रक्तकाली, भद्रकाली र नक्साल भगवती तथा पशुपति क्षेत्रको वनकाली, राजराजेश्वरी, झङ्केश्वरी, बज्रेश्वरी, बच्छलेश्वरी, जयवागेश्वरी लगायतका पीठमा नवरात्रमेला लाग्छ ।

यसैवीच हनुमानढोका दरवारमा रहेको दशैँघरमा पनि घटस्थापना गरिँदैछ । पाटन दरवार र भक्तपुर दरवारको तलेजुमा पनि घटस्थापना गरिँदै छ । फौजी निकायका कोतघरमा पनि प्रचलन अनुसार घटस्थापना गरेर फूलपातीका दिन फूलपाती भित्र्याइ महाअष्टमी र महानवमीमा बोका राँगा वली दिएर बडादशैँ मनाइन्छ । समरजङ् कम्पनीले पनि देवीको निसान समक्ष घटस्थापना गरेर बडादशैँ मनाउँँदै छ ।

उपत्यकाबाट १० लाख बाहिरिए

दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् ।

‘त्यसअघि दैनिक ३०/ ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो,’ महाशाखा प्रमुख पन्तले भन्नुभयो । असोज २४ गते घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै जाने अनुमान उहाँको छ ।

काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधनले दैनिक आवत जावत गरिरहेका छन् । यो नाकाबाट वाहिरिने कुनै पनि गाडी रित्तो नभएको प्रहरीको भनाइ छ ।

सबैले यात्रु बोकेर वाहिरिने गरेका छन् महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले भन्नुभयो,‘ प्रत्येक सवारी साधनमा यात्रु भरिपूर्ण देखिन्छ ।’

ट्रक, टिपर, कार, मोटर, मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, कन्टेनर लगायत जे जति सवारी साधन उपत्यका वाहिरिन्छन ती सबैमा यात्रु बोकेर जाने गरेको जानकारी पनि उहाँले दिनुभएको हो ।

त्यस्तैं, उपत्यकामा भित्रिने सवारी साधनकोको संख्यामा पनि कमी छैन । जति सवारी साधन वाहिरिन्छन त्यतिकै भित्रिने गरेका छन् । यसरी, भित्रिने सवारी साधनमा यात्रु नभई सरसामान र खसीबोका र हाँसकुखुरा आउने गरेका छन् ।

भक्तपुरको साँगा–जगाते, दक्षिणकाली– फर्पिड, बालाजु– मुड्खु, बुढानिलकण्ठ–टोखा, रामकोट, साँखु, ललितपुर लगायत काठमाडौं उपत्यका प्रवेशका मुख्य नाकाहरुमा सवारी साधनहरुको बाक्लो ओहोर दोहोर हुने गरेको छ ।

नागढुड्गा सडक खुल्यो

सडक कालोपत्रे गर्ने नाममा एकहप्ताका लागि राति ८ वजेदेखि पछिल्लो विहान ५ वजेसम्म लागि बन्द हुदै आएको नागढुड्गा पिपलमोडसम्मको दुई किलोमिटर सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

यो सडक मंगलवार रातिबाट सञ्चालनमा आएको हो । यो सडक कालोपत्रे गरेसंगै नागढुड्गा धुलो मुक्त भएको छ भने जामको समस्या हटेको छ ।

त्यस्तैं, दशैमा घरजानेहरुको यात्रा सहज र सुरक्षित बनाउन कलंकीदेखि नागढुड्गासम्मको क्षेत्रलाई जाममुक्त बनाउने प्रयास भइरहेको जानकारी महानगरीय ट्राफिक प्रहरी महशाखाले दिएको छ ।

सडकमा ट्राफिक तथा अन्य प्रहरीको संख्या थपिएको छ । नागढुड्गादेखि नौविसे सडक खण्डलाई जाम मुक्त बनाउन झ्याप्ले खोलामा अस्थायी प्रहरी विट स्थापना गरिएको छ । नागढुड्गा उकालोमा हुने जाम हटाउन तथा बाटोमा विग्रिएका सवारी साधनहरु साइड लगाउन दुईटा क्रेनको ब्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter