प्रहरीको नयाँ अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’

Metropolition Police Crime Sectionकाठमाडौँ, असोज २८ गते ।नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

आगामी कात्तिक ११ गतेदेखि देशैभर एकैसाथ उक्त कार्यक्रम लागू गर्ने गरी आवश्यक गृहकार्य भइरहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । गृहमन्त्री रामबहादुर थापासहित विभिन्न मन्त्रालयका सचिव, काठमाडौँ उपत्यकाको स्थानीय तहका प्रमुखसमक्ष उक्त अवधारणा प्रस्तुत गर्दै खनालले सो अभियानले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । गृह प्रशासन सुधार योजना, कानूनी प्रावधान र गृह मन्त्रालयले ल्यएको ८२ बुँदे अवधारणालाई समेत आत्मसात् गरी उक्त अवधारणा प्रहरीले अघि सारेको हो ।

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ उक्त अभियान केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुनेछ । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने छ ।

अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ । यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’ लगायत कार्यक्रम सीमित समयपछि प्रभावकारी हुन सकेको थिएन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरी महानिरीक्षक खनालको भनाइ छ ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास छ । “समृद्ध नेपाल सुखी नेपाली’ बनाउन यसले सहयोग पुग्छ”, प्रहरी महानिरीक्षक खनालले भन्नुभयो,“ यसबाट भयमुक्त समाज, गुणस्तरीय शिक्षा, अपराध र हिंसाबाट सुरक्षा, तथा शान्ति र स्थायित्व कायम गर्न मद्दत मिल्छ ।”

उत्तः अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै जाने छ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने अवधारणामा उल्लेख छ ।

कार्यक्रममा ७५३ स्थानीय तहसँग समन्वय गरिनेछ । दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने अनुमान प्रहरीको छ । प्रहरीले परिणाममुखी काम गर्ने योजनाका साथ नयाँ अवधारणा ल्याएकाले सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सहयोगको समेत अपेक्षा प्रहरीको छ । कार्यक्रमका लागि अवश्यक प्रशिक्षक तयार हुँदैछन् । सम्बन्धित मन्त्रालय र अधिकारीको आवश्यक सुझावलाई समेत थपेर कात्तिक तेस्रो हप्तादेखि देशभर कार्यक्रम लागू हुनेछ ।

कार्यक्रम शुरु गर्न रु एक करोड ९२ लाख तथा एक वर्षको कार्यक्रम सञ्चालन गर्न रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको छ । यस्तै दीर्घकालीन योजनानुसार रु ४३ करोड बजेट लाग्ने अनुमान प्रहरीको छ । काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरीले महत्वपूर्ण अवधारणा अघि सारेकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, “कार्यक्रम दीर्घकालीन होस्, सहयोग गर्न तयार छौंँ ।”

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले महत्वपूर्ण योजना आएको प्रतिक्रिया दिँदै प्रहरी र स्थानीय तह र समुदायबीच समन्वय हुने हो भने शान्ति, अमनचयन र देश विकासमा टेवा पुग्ने प्रतिक्रिया दिनुभयो ।

साझेदारी संयन्त्र

प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुने छ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ ।

जिल्ला संयोजकमा प्रमुख जिल्ला अधिकारी रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था, नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति, सरोकार राख्ने अन्तरराष्ट्रिय सङ्घसंस्थालाई समेत सहभागी गराइनेछ । एकीकृत रुपमा स्वयंसेवकको समेत व्यवस्था गरी परिचालन गरिनेछ ।

कार्यक्रमका प्राथमिकता
उक्त कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नेछ ।

यसका लागि पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराउने छ । यसले अप्ठ्यारो पर्दा कहाँ सम्पर्क गर्ने भन्ने जानकारीसमेत संयन्त्रमार्फत नै हुने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरेर सचेतना बढाइनेछ ।

‘एक वडा एक कार्यक्रम’ समेत सञ्चालन गरिने प्रहरीले जनाएको छ । उक्त अवधारणालाई संस्थागत रुपमा लैजाने उद्देश्यले प्रहरी प्रधान कार्यालयले सात वटै प्रदेश प्रमुखलाई बोलाएर जानकारीसमेत दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter