सिन्डिकेट हटेपछि फेरियो मुस्ताङ

View of Lomanthang in Mustangचन्द्रप्रकाश शर्मा / बाग्लुङ, कात्तिक २६ गते । लामो समय सिन्डिकेटका कारण विदेशी पर्यटकको भरमा धानिएको मुस्ताङको पर्यटन व्यवसाय सिन्डिकेट हटेसँगै फेरिएको छ । मुस्ताङ जिल्ला यातायात सञ्जालमा जोडिएपछि शुरू भएको सिन्डिकेट कारण मुस्ताङ प्रवेशमा ढोका बन्द जस्तै बनेको आन्तरिक पर्यटन सिन्डिकेट हटेसँगै ह्वात्तै बढेको हो ।

सहज रूपमा निजी तथा सार्वजनिक सवारीसाधनमा जोमसोम मात्र नभई उपल्लो मुस्ताङको नेपाल–चीन सीमासम्म पुग्न सकिने भएपछि यतिबेला मुस्ताङका व्यवसायीलाई भ्याइनभ्याई भएको छ । मुस्ताङ घुम्नका लागि उपयुक्त मानिने असोजदेखि मङ्सिरसम्म मुस्ताङका बजार क्षेत्रका ठूला होटल तथा ग्रामीण क्षेत्रवासीलाई समेत भ्याइनभ्याई भएको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । तुलाचनलका अनुसार मुस्ताङमा अहिले होटल २५५ वटा होटल सञ्चालित रहेकोमा सिन्डिकेट हटेपछि जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङ, चराङलगायतका क्षेत्रमा सानाठूला होटल खुल्ने क्रमले तीव्रता पाएको छ ।

तीन वर्ष अगाडिसम्म यातायात क्षेत्रमा रहेको सिन्डिकेटका कारण बाहिरबाट आउने सवारीसाधन मुस्ताङ सिमानासम्म मात्र जान पाउने गरेकोमा सिन्डिकेट तोडिएपछि अहिले जहीँतहीँका सवारीसाधन सहज रूपमा मुस्ताङ पुग्न सक्छन् । हामीले आफूले मात्र व्यापार व्यवसाय गर्न पाउनुपर्छ भन्दा पर्यटनको ढोका नै बन्द गरेका रहेछौँ, तीन वर्ष अगाडि सिन्डिकेट हुँदा सवारीसाधन फेर्नुपर्ने, समयमा नपाइने गर्दा पर्यटक मुस्ताङ आउन हिच्किच्याउथे, अहिले सिन्डिकेट तोडिएपछि मानिसहरूको चाप मुस्ताङले थग्नै नसक्ने अवस्थामा पुगेको छ, तुलाचनले भन्नुभयो ।

केही वर्ष अगाडिसम्म सवारीसाधन फेरेरै भए पनि धार्मिक भ्रमणका लागि मुक्तिनाथ आउने नेपाली तथा पदयात्रामा आउने विदेशी पर्यटक मात्र देखिने मुस्ताङका हरेक कुना कन्दरा अहिले मुस्ताङको प्राकृतिक सौन्दर्य हेर्नका लागि आउने पर्यटकका कारण भरिभराउ भएको व्यवसायीहरूको भनाइ छ । दशैँ, तिहार र छठलगायतका पर्वको समयमा प्रायः विद्यालय बन्द रहने, विदेश गएका चाडबाड मनाउने नेपाली आउने भएकाले विद्यार्थीदेखि पारिवारिक घुमघाममा निस्किनेहरू पनि मुस्ताङ पुगेका छन् ।

पछिल्लो समय बाह्यभन्दा कैयौँ गुणा आन्तरिक पर्यटकको सङ्ख्या बढेको स्याङ्बोचेका डन्डु छिरिङले बताउनुभयो । एकाध मुस्ताङ बाहिरका सावारीसाधनले प्रवेश पाउने गरेको भए पनि अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण मुस्ताङ बाहिरका सवारी निकै कम मात्रामा भित्रिने गरेका थिए ।

मुस्ताङ घुम्नका लागि वर्षमा दुई सिजन उपयुक्त मानिने गरेका छन् । चैतदेखि जेठसम्मको समय र असोजदेखि मङ्सिरसम्मको समय उपयुक्त समय हुन् । यतिबेला मुस्ताङमा दैनिक चार हजारदेखि आठ हजारसम्म पर्यटक भित्रिएका छन् । म्याग्दीको सिमानासँग जोडिएको घाँसादेखि चीनको सिमानासँग जोडिएको लोमान्थाङसम्म रहेका मुख्य बजारमा मुस्ताङका व्यवसायीले होटल तथा लजको व्यवसाय गर्दै आएका छन् ।

अहिले सिन्डिकेट हटेपछि मुस्ताङमा मानिसको चाप थेग्न मुस्किल परेको छ, जोमसोममा एक सय जनाभन्दा धेरै पर्यटक राख्ने आठ÷दश वटा होटल मात्रै हामीसँग छन्, बाँकी सबै ४० देखि ५० जना क्षमताका छन्, उनीहरूले मानिसको बसाइँ व्यवस्थापन गर्न नसक्दा म्याग्दी हुँदै बाग्लुङसम्म पुगेर पर्यटकहरूले बासको व्यवस्था गर्ने गरेका छन्, उद्योग वाणिज्य सङ्घका अध्यक्ष तुलाचनले भन्नुभयो ।

मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङमा स्याउ टिप्ने, फापर काट्ने, आलु खन्नेदेखि पर्यटकलाई सेवा प्रदान गर्ने समय एकैपटक परेकाले यतिबेला मुस्ताङका हरेक मानिस व्यस्त रहेको बताउनुभयो । दुई वर्ष अगाडिको मुस्ताङ र अहिलेको मुस्ताङमा आकाशजमिनको फरक परेको छ, यसको मुख्य काम सिन्डिकेट हट्नु हो, मानिस यात्रामा निस्कँदा सहज रूपमा गन्तव्यमा पुगौँ भन्ने हुँदो रहेछ, हिजो सवारीसाधन परिवर्तन गरेर आउन नमान्नेहरू अहिले निजी तथा सार्वजनिक गाडीमा सहज गन्तव्यमा पुग्ने भएपछि मुस्ताङको भीडभाड गजबले बढेको छ, तुलाचनले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter