दृश्यावलोकन स्तम्भ बन्नेमा ढुक्क

kathmandu-view-towerकाठमाडौँ, मङ्सिर २ गते । काठमाडौँ दृश्यावलोकनस्तम्भ निर्माणको काम अगाडि बढेको छ । सम्झौता भएको लामो समयसम्म काम शुरु हुन नसके पनि तीन महीनादेखि नियमित रुपमा काम भइरहेको छ । अहिले निर्माणका लागि जमीनमुनि गर्नुपर्ने काम भइरहेको र अबको एक महीनापछि देखिनेगरि नै काम हुने कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो ।

“केही महीनाअघिसम्म पनि निर्माणको काम के होला भन्ने अवस्था रहे पनि अब काम हुनेमा कामपा ढुक्क छ”, काफ्लेले भन्नुभयो । निर्माण गर्नका लािग कम्पनीले चासो देखाएकाले आवश्यक परे समय थप्ने तयारी पनि कामपाको छ । नियमानुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक दुई वर्षका लागि समय थप्न मिल्छ ।

स्तम्भ निर्माणका लागि कामपा तथा जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भन्नुभयो ।

गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । हाल १५ प्रतिशत काम भएको स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङ स्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ स्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ ।

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ । स्तम्भमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना पनि छ । कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई करस्वरुप रु पाँच करोड बुझाइसकेको छ । तीन वर्षदेखि निर्माण शुरु गर्ने योजना भएकाले बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ ।

हाल केही समयका लागि तय गरिएको बसपार्क साँगुरो हँुदा यातायातको साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् । कम्पनीले आवश्यकता ठहर गरे अबको केही दिनमा नै कामपाले समय थप गर्नेछ । उक्त स्तम्भ निर्माणका लागि दैनिक ५० कामदारले काम गरिरहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter