२० खर्ब ३३ अर्बको लगानी;  विदेशी लगानी रु. दुई खर्ब ६८ अर्ब

 

investmentकाठमाडौँ, मङ्सिर १० गते । नेपालको उद्योग क्षेत्रमा रु. २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु. २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु, घरेलु तथा साना उद्योगमा चार खर्ब ३२ अर्ब लगानी रहेको सिंहले जानकारी दिनुभयो ।

यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग रहेका समावेश छन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक र सेवामूलक उद्योग रहेका छन् । त्यसपछि कृषि तथा वन पैदावरका उद्योग पर्दछन् । सङ्ख्यात्मक रूपमा कम भए पनि ऊर्जामा लगानी बढेको सिंहले जानकारी दिनुभयो ।

दर्ता भएका उद्योगमा लगानीको अवस्था हेर्दा ऊर्जामूलक उद्योगमा ५५ दशमलव ३१ प्रतिशत, उत्पादनमूलक उद्योगमा २३ दशमलव ६० प्रतिशत, सेवामूलक उद्योगमा आठ दशमलव ६२ प्रतिशत लगानी छ । पर्यटन उद्योगमा भने न्यून लगानी
(छ दशमलव ६८ प्रतिशत) रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । अन्य उद्योगमा लगानी न्यून छ । नेपालका यी उद्योगले ३१ लाख ८१ हजार ८१ हजार ४९६ जनालाई रोजगारी दिएको महानिर्देशक सिंहको भनाइ छ ।

विदेशी लगानी रु. दुई खर्ब ६८ अर्ब

विभागले दिएको जानकारीअनुसार चार हजार ५०० उद्योगमा कुल रु. दुई खर्ब ६८ अर्ब विदेशी लगानी रहेको छ । विदेशी लगानीमध्ये २८९ ठूला उद्योगमा रु. एक खर्ब ९० अर्ब, ४०० मझौला उद्योगमा २६ अर्ब र तीन हजार ७९० उद्योगमा रु. ५१ अर्ब लगानी रहेको महानिर्देशक सिंहले जानकारी दिनुभयो ।

असार मसान्तसम्ममा विदेशी लगानी स्वीकृतिका हिसाबले सबैभन्दा बढी सेवामूलक उद्योगमा छ । जसअन्तर्गत एक हजार ५०२ वटा उद्योग दर्ता छन् । दोस्रोमा पर्यटनतर्फ एक हजार ३७१ होटल रेष्टुरेन्टमा लगानी छ । उत्पादनमूलक उद्योग एक हजार १०६ रहेको विभागले जनाएको छ । यसबाहेक ऊर्जा, निर्माण, खनिज तथा सूचना तथा सञ्चार क्षेत्रका उद्योगमा विदेशी लगानी रहेको विभागले जनाएको छ ।

लगानी प्रतिशत हेर्दा विदेशी लगानी पनि सबैभन्दा बढी ऊर्जा क्षेत्रमा ४६ दशमलव ०८ प्रतिशत छ । यस्तै, उत्पादनमूलक उद्योगमा १७ दशमलव ९९ र सेवामूलक उद्योगमा १७ दशमलव ८२ प्रतिशत रहेको छ । पर्यटनमा ११ दशमलव ४ प्रतिशत छ भने अन्य क्षेत्रमा पाँच प्रतिशतभन्दा कम छ । उद्योग क्षेत्रको विकासमा सम्भावना बढ्दै गएको भन्दै विभागले राजनीतिक स्थिरता, नीति निर्माणमा सुनिश्चितता र निरन्तरता, जलविद्युत् उत्पादन र ऊर्जाको पर्याप्तताले पनि वातावरण राम्रो रहेको जनाएको छ ।

रुग्ण उद्योग सञ्चालन, रोजगारदाता र मजदुरबीचको विवाद, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, कम गुणस्तरका उत्पादनले पनि अप्ठ्यारो अवस्था भने कायमै छ ।

सरकारले यसरी उद्योगको वातावरण राम्रो बन्दै गएको दाबी गरे पनि लगानी गर्ने वातावरण ‘डुइङ बिजिनेस’ मा नेपाल पाँच अङ्कले तल झरेको विषयलाई आधार मान्दै व्यवसायीले भने अझै लगानी गर्ने वातावरण नभएको दाबी गर्दै आएका छन् । उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोपालप्रसाद तिवारीका अनुसार सरकारकै तथ्याङ्क हेर्दा पनि नेपालमा साना तथा मझौला उद्योगको हिस्सा ७६ प्रतिशत र रोजगारी भने ७४ प्रतिशत रहेको तर लगानीका हिसाबले हेर्दा साना उद्योगमा पाँच प्रतिशत मात्रै रहेकाले पनि ठूला उद्योग सञ्चालन नगरेसम्म रोजगारी वृद्धि गर्न सकिँदैन ।

आइतबार उद्योग दिवस मनाइरहँदा उहाँले नेपालमा चलेका उद्योगमध्ये ५० प्रतिशत उद्योग पूर्ण क्षमतामा चल्न नसकेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । २०७१ सालदेखि आजको दिनलाई उद्योग दिवसका रूपमा सरकारले मनाउँदै आएको छ । कुल गार्हस्थ उत्पादनमा विगतमा उद्योगले १० प्रतिशतमाथि योगदान दिएकोमा अहिले पाँच प्रतिशतमा झर्नुले पनि सकारात्मक सङ्केत नभएको दाबी तिवारीको छ । राजस्वको योगदान भने सन् २००१ मा कुल गार्हस्थ उत्पादनमा ११ प्रतिशत रहेकोमा सन् २०१७ मा पुग्दा २४ प्रतिशत पुगेको भए पनि रोजगार विकास गर्ने क्षेत्रको योगदान घट्दै जानुले पनि सकारात्मक नदेखिएको उहाँ बताउनुहुन्छ ।

मुलुकभित्र उत्पादन वृद्धि गरी राजस्व बढाउन नसकिएको व्यवसायीको भनाइ छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नीतिगत समस्या रहेकाले पनि उद्योगको विकास प्रभावकारी हुन नसकेको भन्दै सरकार यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यमकुमारी खतिवडाले सरकार परिणाममुखी कामका लागेको भन्दै पछिल्लो समयमा उद्योगमैत्री नीति ल्याउन प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले देखिएका समस्यामा निजी क्षेत्रसँग सहकार्य गर्दै समाधान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । यसमा सहकार्य गर्न समेत निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter