कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

roadसञ्चिता धिमिरे / काठमाडौँ, मङ्सिर ११ गते । कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो ।

“सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह् लगाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सडक चिन्ह् सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ ।” सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ । दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह् लगाइएको हो । अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ र उहाँले भन्नुभयो, “केहि दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ ।”

यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन । आठ लेन सडक भन्दा बाहिर दुबैतर्फ एक एक लेनको सर्भिस ट्र्याक(सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो । यसमा केहि स्थानमा मात्र काम अघि बढेको छ ।

सर्भिस ट्र्याकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन । यो सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ ।

उहाँले भन्नुभयो, “नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ ।” चार वर्ष पहिले ४० महीनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण शुरु भएको थियो ।

गतवर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एक वर्ष अवधि थप गरेको थियो ।

थप भएको अवधि (आगामी डिसेम्बर) भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना छ । नेपालमा पहिलो पटक बनेको ‘अण्डर पास’(भूमिगत सडक) लाई यो सडकको विशेषता मानिएको छ । भूमिगत सडक खसी बजारचोकदेखि कलङ्कीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ । सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ ।

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुबै छन् । सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ ।

सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ । पाइपलाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ््याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा रहेका घरटहरा भने अझै हटेका छैनन् ।

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्र्याक समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक पनि छन् । जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।

दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौँ र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ ।

नगर प्रहरी थप्दै ललितपुर

ललितपुर महानगरपालिकाले ५० नगर प्रहरी थप गर्ने भएको छ । जनशक्ति पर्याप्त नभएकाले थप गर्न लागिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

ललितपुरका धेरै स्थानमा ट्राफिक व्यवस्थापनको खाँचो भएकाले त्यसका लागि थप नगर प्रहरी आवश्यक छ । उहाँले भन्नुभयो, “महानगरपालिका भइसकेपछि आवश्यक पर्ने जनशक्ति राख्न हामी लागेका छौं ।”

अहिले २३ जना नगर प्रहरी कार्यरत रहेको महानगरपालिकाले जनाएको छ । भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका धेरै जिम्मेवारी उनीहरुमाथि थपेको छ । उहाँले भन्नुभयो, “नगर प्रहरीको सङ्ख्या बढाएर उनीहरुलाई थप जिम्मेवारी दिइनेछ ।”

महानगरपालिकामा कार्यरत नगर प्रहरीले पटक÷पटक जनशक्ति अपर्याप्त भएको बताउँदै आएको थियो । महानगरपालिकाको भवन सुरक्षा, महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षा, सडक व्यवस्थापन, न्यायिक समितिको निर्णय कार्यान्वयनको जिम्मेवारी नगर प्रहरीको हो । दमकलका लागि छुट्टै जनशक्ति नहुँदा केही वर्षदेखि नगर प्रहरीले नै महानगरपालिकाको चार दमकल सञ्चालन गरिरहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter