मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने

Gangalal Hospitalकाठमाडौँ, पुस १९ गते । नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । कारागारभित्रै खोलिएको यसप्रकारको यो पहिलो अस्पताल हो ।

अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले जनाएको छ । कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढिरहँदा दुई वर्षदेखि अस्पतालको निर्माण शुरु भएको थियो ।

लगनखेलमा मानसिक अस्पताल भएकोले देशभरका कैदीबन्दीमा मानसिक समस्या देखिएपछि नख्खु कारागारमा सरुवा भएर आउने गरेको जेलर जीवन दुलालले बताउनुभयो । कारागारमा अहिले १४० मानसिक रोगी छन् । उहाँले भन्नुभयो, “कारागारमा पुगेपछि यस्तो रोग लागेर औषधि खाइरहेका बिरामी यहाँ आइरहेका छन् ।”

कारागार प्रशासनले यहाँका तीनै ब्लकमा मानसिक रोगीलाई अरु कैदीबन्दीसँग मिसाएर राखिएको छ । त्यस्ता रोगी मात्रै एउटै ब्लकमा राख्दा जोखिम हुने भएकाले फरक ब्लकमा राखिएको जेलर दुलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगी कहिलेकाहीँ आवेगमा आउँदा पनि भित्रका अरु कैदीबन्दीले समालेर राख्नुहुन्छ, हामीले मात्रै सबै व्यवस्थापन गर्न सकिन्न ।”

अस्पताल सञ्चालनमा आउन बाँकी भएपनि यहाँ औषधि खाइरहेका बिरामीलाई मनोचिकित्सकले समयसमयमा जाँच गरिरहेका छन् । बिरामीलाई आवश्यकताअनुसार लगनखेलस्थित मानसिक अस्पताल लगिन्छ । अस्पताल बन्नु पहिले नै यहाँ मानसिक रोगी कैदीबन्दी धेरै आउने गरेका थिए । अस्पताल बन्न थालेपछि उपचार हुने भन्दै धेरै त्यस्ता रोगी सरुवा भएर आएका हुन् । जेलर दुलालले भन्नुभयो, “अस्पताल पूरै सञ्चालनमा आएपछि यो सङ्ख्या अझै बढ्न सक्छ ।”

कारागारको व्यवस्थापन आफैँमा सजिलो काम नभएको उहाँले बताउनुभयो । मानसिक रोगी कैदीबन्दीको व्यवस्थापन अझै गाहे छ । त्यस्ता रोगीलाई जोगाउनुपर्ने र अरु कैदीबन्दीलाई असर पर्न नदिने कुरामा ध्यान दिनुपर्छ । कतिपय अरुलाई कुटपिट गर्ने, कोही लामो समयसम्म लुक्ने र कतिपय हाम फाल्न वा विष खाएर आत्महत्याको प्रयास गर्छन् । उहाँले भन्नुभयो, “भित्रका नै अरुले चनाखो भएर त्यस्ता रोगीको ख्याल गर्न खाँचो छ ।”

मानसिक रोगीले गरेको जस्तोसुकै कसुर मुक्त हुने व्यवस्था छ । कुनै पनि अपराधमा अदालतले सजाय सुनाएर कारागारमा रहँदा मानसिक रोग लाग्दा ऊ कसुरमुक्त हुँदैन र कारागारले नै उपचार व्यवस्था गर्छ । देशका धेरै ठाउँमा मानसिक रोग विशेषज्ञ नहुँदा धेरैले यहाँ उपचारका लागि सरुवा गर्छन् ।

कारागारले जुनसुकै रोगका बिरामीको उपचार सरकारी अस्पतालमा गर्ने गर्छ । बिरामी पर्दा उनीहरुलाई रोगअनुसार वीर, गङ्गालाल हृदय रोग केन्द्र वा तिलगङ्गा आँखा अस्पताल लगिन्छ । गम्भीर खालका बिरामीको उपचार सरकारी अस्पतालमा ठाउँ नहुँदा समस्या पर्ने गर्छ ।

कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहाल परिवारसँग टाढा हुँदा कैदीबन्दीमा मानसिक रोग लाग्ने बताउनुहुन्छ । धेरैमा उदासिनता हुने समस्या देखिएकाले नियमित रुपमा औषधि खाइरहेका छन् । उहाँले भन्नुभयो, “एक त बाहिरको संसार छाडेर यहाँ आएको हुन्छ त्यसमा कतिपयका परिवारले बेवास्ता गर्दा उनीहरुमा चिन्ता हुन्छ र चिन्ताले मानसिक रोग लाग्छ ।”

कारागारमा एक हजार बढी कैदीबन्दी छन् । कारागारमा नयाँ भवन बन्ने र अस्पतालका कारण कैदीबन्दीको सङ्ख्या बढिरहेको छ । शहरी क्षेत्रको भीडभाडभन्दा टाढाको यो कारागार झण्डै ४७ रोपनी क्षेत्रफलमा फैलिएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ मनोरोग विशेषज्ञसहित १२ कर्मचारीको दरबन्दी व्यवस्था गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter