ऊनी फेल्टका सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि

काठमाडौँ, फागुन १८ गते । समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ दशमलव दुई प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिनुभयो ।

गएको वर्ष रु एक अर्ब ५९ करोडको सामान निर्यात भएको जानकारी दिँदै उहाँले कूल निकासीमध्ये ऊनी फेष्टका सामग्रीको हिस्सा भने एक दशमलव नौ प्रतिशत मात्रै रहेको बताउनुभयो तर २०७० सालदेखि भने क्रमशः निर्यातमा वृद्धि भइरहेको कार्यकारी निर्देशक राणाको भनाइ थियो । मुख्यगरी यस्ता सामग्री अमेरिका, जर्मनी, क्यानडा, स्वीडेन, नेदरल्याण्ड, जापान र फ्रान्समा पुग्ने गरेको छ ।

निर्यात भएकामध्ये एक तिहाइ अमेरिकामा खपत हुने गरेको उक्त केन्द्रले जनाएको छ । विश्वबजारमा यस्ता सामग्रीको माग राम्रो भएको व्यवसायीले बताएका छन् तर सरकारको नीति नियम प्रभावकारी नहुँदा उत्पादन तथा निर्यातमा समस्या आइरहेको व्यवसायीले बताएका छन् । विश्व बजारमा शून्य दशमलव ०१ प्रतिशत ऊनी फेष्टको आयात हुने गरेकामा यसलाई १०० प्रतिशत मान्दा अमेरिकाले मात्रै सात दशमलव नौ प्रतिशत आयात गर्ने गरेको छ ।

आयात गर्ने दोस्रोमा मेक्सिको र तेस्रोमा जर्मनी रहेको कार्यकारी निर्देशक राणाले बताउनुभयो । विश्वको मागमा नेपालले एक दशमलव दुई प्रतिशत निर्यात गरिरहेको र निर्यातका हिसाबले नेपाल १८औँ स्थानमा रहेको उक्त केन्द्रले जनाएको छ ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठले ठमेललगायत बजार क्षेत्रमा खुलारुपमा खरीद–बिक्रीसमेतलाई जोड्ने हो भने यसको निर्यात वार्षिक रु दुई अर्बको रहेको जिकिर गर्नुभयो । “हाम्रो व्यवसाय ओझेलमा परेको र बीसौँ वर्षसम्म व्यवसाय चलिसक्दा पनि सरकारी निकाय फेल्ट भनेको के हो भनेर सोध्छन्, यसले हामीलाई दुःख लाग्छ ।” श्रेष्ठले भन्नुभयो ।

उहाँले थप्नुभयो, “फेल्टिङ प्रविधिबाट हरेक चीज बन्छ, काँचो माटोजस्तै हो, कलात्मक आर्ट हो, जुत्ता, कार्पेट, झोला, खेलौना, क्रिसमस सामग्रीलगायत हरेक चिज बन्छ तर पनि सरकारको ध्यान यसतर्फ पुगेको छैन ।” विगतमा रु एक लाखबाट निर्यात शुरु गरिएको यो व्यवसाय अहिले अर्बाैंको पुग्नु आफैँमा सफलता भएकाले सरकारले प्रोत्साहन गर्ने हो भने अझै निर्यात बढाउन सकिने बताउनुभयो ।

बीस हजार महिलाले रोजगार पाएको यो व्यवसायमा दक्ष कामदारको भने अभाव रहेको व्यवसायीहरू बताउँछन् । अर्का व्यवसायी महेश्वर श्रेष्ठले निर्यातका लागि आवश्यक पूर्वाधार र उत्पादन बढाउनु पर्ने उल्लेख गर्दै यसका लागि स्पष्ट नीतिको खाँचो रहेको औँल्याउनुभयो । “भियतनाम, श्रीलङ्का, कम्बोडियाले निर्यात बढाइरहेका छन्, उनीहरुकोमा स्पष्ट नीति नियम छ र सम्भव भएको हो, यसतर्फ नेपालले ध्यान दिनुपर्छ ।”

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेशभाइ शाक्यले निर्यातको नगद प्रोत्साहन बढाउनुपर्नेमा जोड दिँदै दक्ष जनशक्तिको समेत आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले साना उद्यमीले नसोचेको प्रगति गरिरहेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहनको खाँचो रहेको औँल्याउनुभयो ।

अर्थमन्त्री युवराज खतिवडाले उद्योग व्यवसायको विकास गरी निर्यात बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै आउनुभएको छ । जनशक्ति उत्पादनका लागि तालीम दिन सरकार तयार रहेको उहाँको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter