प्राविधिक शिक्षा सञ्चालन गर्न डेढ करोड; विपन्नको घर छाउदै स्थानीय सरकार

गलकोट, फागुन १८ गते । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न रु एक करोड ६५ लाख सहयोग सङ्कलन भएको छ । विद्यालयले ७ देखि १६ गतेसम्म सञ्चालन गरेको स्वर्ण महोत्सवमा सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, जिल्लाका सम्पूर्ण पालिका, विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिलगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रुपमा रकम सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताउनुभयो ।

विद्यालयले सङ्कलन गरेको रु एक करोड ६५ लाखमध्ये रु एक करोड २९ लाख नगद तथा ३६ लाख बराबरको विद्यालयलाई भौतिक पूर्वाधार निर्माण गरिदिने बताइएको छ । सङ्कलन भएको रकमबाट अक्षयकोष निर्माण गरी त्यसको व्याजबाट प्राप्त रकमले कक्षा १२ सम्म निःशुल्क प्राविधिक शिक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताउनुभयो ।

महोत्सवको अवसरमा सबैभन्दा बढी सहयोग गर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा उद्यमी चन्द्र ढकाल रु पाँच लाख, फौजबहादुर चोखाल रु चार लाख ५० हजार र विष्णु शेरचनले रु दुई लाख ५० हजार सहयोग प्रदान गर्नुभएको महोत्सवका आर्थिक संयोजक नरबहादुर थापाले बताउनुभयो ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन एक वर्षभित्र शुरु गर्ने योजना विद्यालयको छ । शिक्षा मन्त्रालयबाट सम्बन्ध लिई कक्षा ११ र १२ मा कृषि तथा भेटेरेनरी विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताउनुभयो ।

“कक्षा १२ पास भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अत्य गर्न प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, अध्यक्ष खत्रीले भन्नुभयो “अबको एक वर्षभित्र प्राविधिक शिक्षा सञ्चालनमा आउँछ ।” ताराखोला गाउँपालिका जिल्लाको दुर्गम गाउँपालिकामा पर्ने भएकाले विपन्न परिवारका विद्यार्थीले घरमै बसेर प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

विपन्नको घर छाउदै स्थानीय सरकार

बागलुङको काठेखोला गाउँपालिका–७ वडा कार्यालयले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाएको वडा कार्यालयले जनाएको छ ।

काठेखोला गाउँपालिकाको पहलमा वडा कार्यालयले खरको छाना भएको घरको तथ्याङ्क सङ्कलन गरी वडाक्षेत्रभित्रका ८५ घरमा रहेको खरको छाना विस्थापित गर्ने योजनाका साथ अघिल्लो वर्ष २६ घर जस्तापाताले छाएको थियो । यो वर्ष नौ घरमा जस्तापाता प्रदान गरिसकेको र बाँकी घरलाई आगामी योजनामा समावेश गरिने वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । गत आर्थिक वर्षमा रु सात लाख खर्च भएको र यो आर्थिक वर्ष रु दुई लाख बजेट विनियोजन गरिएको वडासदस्य कृष्ण थापाले बताउनुभयो ।

लामिछानेले भन्नुभयोे, “खरको छानाका विस्थापित गर्दा आगलागीजस्ता प्राकृतिक प्रकोपको जोखिमसमेत घटेर गएको छ ।” पुस्तौँदेखि खरको छानमा बस्दै आएका सन्ते किसानले टिनको छाना भएको घरमा बस्दा खुशी लागेको प्रतिक्रिया दिनुभयो । वडा कार्यालयमार्फत जस्तापाता पाएर घर छाउनेहरु अधिकांश दलित, विपन्न तथा जनजाति परिवार रहेको बताइएको छ । कार्यविधि बनाएर खरको छाना विस्थापित गर्ने घरधनीलाई वडाले निःशुल्क जस्तापाताको व्यवस्था गर्ने र छाना छाउने तथा ढुवानी खर्च घर धनीले गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter