प्रविधिमैत्री बन्दै स्थानीय सरकार

काशीराम शर्मा / बाँके, फागुन १९ गते । बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका छन् । खुला सरकारको अवधारणा अनुसार बाँकेका स्थानीय सरकारहरुले सेवालाई प्रविधिमैत्री बनाएसँगै यसको प्रभावकारिता बढेको सेवाग्राहीको ठहर छ । नेपालगञ्ज–१, धम्बोझीका रवीन्द्र शर्माले मोबाइलमै उपमहानगरले गरिरहेका कामहरु जानकारी लिन पाइरहँदा कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “एप्समार्फत सबै जानकारी मोबाइल मै आउँछ, किन उपमहानगरको कार्यालयमै धाउनुप¥यो ?” उपमहानगरबाट दिइने समग्र सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँच बनाउन नयाँ प्रविधि शुरु गरिएसँगै सेवाग्राहीलाई सामान्य जानकारीका लागि कार्यालयमै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । चाहेको सूचना आफ्नै मोबाइलबाटै प्राप्त गर्न सकिन्छ । वेबसाइटमा उपमहानगरपालिकाको प्रोफाइल, बजेट, परियोजना, सेवा, संसाधन, सूचना तथा गतिविधि, नक्शाबारे सम्पूर्ण तथ्य समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना, प्रगतिसँगै जनताले नगरप्रमुखसँग हटलाइनमा कुरा गर्न सक्नेसम्मको व्यवस्था मिलाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवन शम्शेर राणाले सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन केही चुनौती भए पनि प्रविधिले सेवाग्राहीलाई सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो – “एप्लिकेशनबाट नेपालगञ्ज उपमहानगरभित्र भइरहेका विकासका काम, लागत रकम, सडकको अवस्था र नगरका विभिन्न विषयमा जानकारी लिन सकिन्छ । त्यसबाट स्थानीय सरकार पारदर्शी भए÷नभएको पनि सेवाग्राहीलाई जानकारी हुन्छ ।”

कुनै कर्मचारीको काम चित्त नबुझे सोही एप्लिकेशनको माध्यमबाट टिप्पणी गर्न सकिने व्यवस्था छ । राणाले एप्सले सेवाग्राहीलाई सहज र कर्मचारीलाई जिम्मेवार बनाएको बताउनुभयो । जनतालाई घरमै सेवा सुविधा दिन मात्र हैन भावी रणनीति बनाउन सहयोग पनि सहयोग पुग्ने उहाँको विश्वास छ । सूचना र प्रविधिको क्षेत्रमा उपमहानगरलाई अब्बल बनाउने उद्देश्यले आफ्नै वेबसाइटसहितको मोबाइल एप्स निर्माण गरिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको भनाइ छ ।

उहाँले भन्नुभयो – “एप्सको प्रयोग तथा उपयोगिताबारे सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई कसरी प्रयोग गर्ने भन्ने चुनौती रहे पनि प्रभावकारिता भने बढिरहेको छ ।” यसको प्रयोगबारे सेवा लिने र दिने दुबैलाई सिकाउन जरुरी रहेको उपप्रमुख थापामगर बताउनुहुन्छ । सेवाग्राहीको सहजताका लागि वेबसाइटमार्फत सूचना प्रवाह गर्दैआएका स्थानीय तहले सूचनालाई प्रभावकारी बनाउन र सूचना तथा जानकारी सहजरुपमा जनतासमक्ष पु¥याउन प्रविधिलाई माध्यम बनाएका हुन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले उपमहानगरको सूचना प्रविधि शाखाले वडाका प्रत्येक टोलमा मोबाइल एप्सका बारेमा सेवाग्राहीलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको देखिएको बताउनुभयो ।

उपमहानगरले एक वर्षअघि काठमाडौँको लिभिङ्ग ल्याब्स नामक संस्थासँगको सहकार्यमा मोबाइल एप्स निर्माण गरी सेवा दिइरहेको छ । प्रविधिको प्रयोगसँगै गोपनीयताका कुरा पनि ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव छ । “नयाँ प्रविधिबाट स्थानीय सरकारका गतिविधिबारे जानकारी दिनु सकारात्मक हो  तर, त्यसको दुरुपयोग हुनुहुँदैन,” सूचना प्रविधिका विषयमा स्नातकोत्तर गरिरहनुभएका लक्ष्मण ढकालले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले उपमहानगरपालिकाका योजनाहरुको नक्शाङ्कन गरी एप्समा राखिएको जानकारी दिनुभयो । सूचना प्रविधि अधिकृत बर्माले भन्नुभयोे – “नेपालगञ्ज उपमहानगरपालिकाको मोबाइल एप्समा उपमहानगरपालिकाका महत्वपूर्ण गतिविधिहरुलाई राख्ने गरिएको छ तर, यसको प्रयोगका बारेमा भने टोलटोल र वडा तहमा पुगेर अभिमुखीकरण गर्न जरुरी देखिएको छ ।”

बाँकेमा कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाले पनि मोबाइल एप सञ्चालनमा ल्याइसकेका छन् । जानकी, नरैनापुर र राप्तीसोनारीले मोबाइल एप सञ्चालनको तयारी गरेका छन् भने डुडुवाले प्रकृया शुरु गर्ने जनाएको छ । एप्स सञ्चालनमा ल्याउन नसकेका बाँकी स्थानीय तहले केही सामाजिक सञ्जालमार्फत महत्वपूर्ण र जनसरोकारका सूचना तथा जानकारीहरु सार्वजनिक गर्दै आएका छन् ।

कोहलपुर नगरपालिकाका आइटी शाखा प्रमुख राजेश चापागाईले एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका आयोजनाहरू, नगरपालिका तथा वडाहरूका नागरिक वडापत्र, उजूरी तथा गुनासाहरू समावेश गरिएको बताउनुभयो । भर्खरै शुरुआत भएका कारण सेवाग्राहीमाझ यसको उपयोगिताबारे अन्यौल देखिएकाले अभिमूखीकरण गर्नुपर्ने उहाँको भनाइ छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमार्फत गाउँपालिकाले प्रवाह गर्ने सेवा, सुविधा हेर्न र बुझ्न सकिने छ ।

खजुरा गाउँपालिकाका प्रमुख किष्मतकुमार कक्षपतिले भविष्यमा थप सुविधायुक्त एप्स बनाइने जानकारी दिनुभयो । उहाँका अनुसार एपमार्फत गाउँपालिकाले दिने सेवा, कार्यक्रम, सूचना तथा जानकारी, सुझाव तथा गुनासा, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थानहरूको जानकारी र आपत्कालीन नम्बर उपलब्ध हुनेछ ।

त्यसैगरी, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले कुनै पनि योजनाको कार्यान्वयनको अवस्था के कस्तो छ भनेर मोबाइलबाटै बुझ्न र गुनासा पनि एप्लिकेशनमार्फत नै गर्न सकिने बताउनुभयो । गाउँपालिकाले मोबाइल एप्समार्फत नै सेवा प्रदान गर्न वडाध्यक्ष र सचिवहरूलाई लागि तालीम दिएपछि मोबाइलबाटै सेवा दिन थालेको छ । स्थानीय तहले आ–आफ्ना वेबसाइटमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यकारी प्रशासकीय अधिकृतका महत्वपूर्ण फोन नम्बर, सूचना अधिकारी लगायतको नाम र सम्पर्क नम्बरहरुसमेत राखेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter