मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ ः नेता महत

काठमाडौँ, चैत २ गते ।नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन, नीति, आचरण र परिश्रम आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेता महतले काङ्ग्रेसले शुरुदेखि नै समाजवाद उन्मुख अर्थ व्यवस्थालाई अगाडि सारेको बताउँदै सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पूर्वअर्थमन्त्री डा महतले उदार अर्थव्यवस्थाका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताउनुभयो । “अर्थ मन्त्रालयको नियन्त्रणमा नेपाल राष्ट्र बैंकलाई राखेर बैंक तथा वित्तीय संस्थालाई धरासयी बनाउन खोजिँदैछ,” उहाँले भन्नुभयो । सुशील कोइराला नेतृत्वको सरकारले गरेको लगानी सम्मेलनलाई कार्यान्वयन गर्नतर्फ सरकार लाग्नुपर्नेमा नयाँ लगानी सम्मेलन गर्न सरकार लागेको उहाँको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले मुलुकको विकासका लागि राजनीतिलाई आर्थिक क्षेत्रसँग जोड्नुपर्ने बताउनुभयो । आर्थिक र सामाजिक हिसाबले संविधान उत्कृष्ट दस्तावेज भएको उहाँको भनाइ थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले युवालाई जागरुक बनाए मात्र मुलुकको विकास सम्भव हुने बताउँदै मुलुकको विकासका लागि उद्योगमैत्री वातावरण निर्माण गर्नु जरुरी पर्दछ भन्नुभयो ।

विसं २०७४ मा युवालाई जागरणको माध्यमबाट राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको अभियानलाई सबै प्रदेश, जिल्ला र स्थानीय तहमा लैजान लागिएको अभियानका संयोजक चिन्तन पौडेलले जानकारी दिनुभयो । अभियानले युवालाई जागरुक बनाई राष्ट्र निर्माणका लागि काम गर्ने संयोजक पौडेलले बताउनुभयो । कार्यक्रममा अभियानद्वारा प्रकाशित पुस्तिका ‘जागृति’को विमोचनसमेत गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter