तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को आज यहाँ उद्घाटन गर्दै उहाँले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताउनुभयो ।

नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।”

सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ । सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो । स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो ।”

उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताउनुभयो ।

बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशी लगानीकर्ता आकर्षित गर्न कानून परिवर्तन गरेका छौँ, अनुकूल वातावरण निर्माण गरेका छौँ । लगानीकर्तालाई कुनै असुविधा नहोस् भनेर एकल सेवा बिन्दु (वान स्टेप सेन्टर) स्थापना गरेका छौँ । दोहोरो कर प्रणाली अन्त्य गर्न विभिन्न देशसँग समझदारी गरिएको छ ।”

विगत अब इतिहास भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले विकासको नयाँ दृष्टिकोण अघि सारेको बताउनुभयो । “विगतका समस्या अब इतिहासका कुरा भए, ती आजका विषय होइनन् हिजोका विषय हुन्, हिजोका विषयमा अल्झिरहनुको कुनै अर्थ छैन । अब हामी अगाडि बढ्छौँ । अगाडि बढ्नका लागि आवश्यक पूर्वाधार, पूर्वशर्त सबै पूरा गर्छांै,” उहाँले भन्नुभयो ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्र्दै निजी र सहकारी क्षेत्रलाई सँगै लिएर हिँड्न चाहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले सरकार एकाधिकार र एकलौटी गर्ने पक्षमा छैन भन्नुभयो ।

निजीकरणको नाउँमा सार्वजनिक सम्पत्ति बेचेर खाने विगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले बेचेर खाने जमाना होइन्, उद्यमशीलताको अवस्था हो । निजी क्षेत्रलाई उद्योगको स्थापना गरी त्यसबाट पारस्परिक लाभ ग्रहण गर्नु अहिलेको आवश्यकता हो । औद्योगिक वातावरण निर्माण गर्न सरकाले कुनै कसर बाँकी राख्दैन ।”

उहाँले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको यस मेलाले व्यापारिक समुदायका बीच अनुभव आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेलाले नेपाली व्यवसायी र विदेशी व्यवसायीका बीचमा उत्पादनका बारेमा जानकारी दिनेछ, पारस्परिक मित्रता, सामीप्यता साटासाट गर्न सहयोग मिल्नेछ ।”

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास सम्भव नभएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रका व्यवसायी बीचको एकता अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापार मेलाले शुक्रबारदेखि शुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सफल बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले वैदेशिक लगानी भित्र्याउन लागेको स्पष्ट पार्दै मन्त्री यादवले अब स्वदेशी लगानीकर्ताले पनि आफूलाई पूँजी र प्रविधिमा दरिलो बनाउनुपर्ने बताउनुभयो । सरकारले लगानीको सुनिश्चितता, प्रतिफल लैजाने कानूनी व्यवस्था गरेको जानकारी दिँदै उहाँले विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो ।

महासङ्घका अध्यक्ष भवानी राणाले नेपालको व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुको विकल्प नभएको जिकीर गर्दै स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न मेला उपयुक्त अवसर भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter