उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, चैत १६ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

मनोहरा नदी सफाइको १०७ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो । सफाइमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी हुनुभयो । सफाइपछिको कार्यक्रमलाई सम्बोधन गनुहुँदै उहाँले नदीमा फोहर नफाल्न स्थानीयवासीलाई अनुरोध गर्नुभयो । टोल सफाइमा सबै जुटे नदीमा फोहर जम्मा नहुने उहाँको भनाइ थियो ।

वाग्मती सफाइ महाअभियानको ३०७ औँ हप्तामा टेकु दोभानस्थित वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ६२ औँ सहकारी दिवसका अवसरमा एक हजारभन्दा बढी सहकारीकर्मी आजको वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभयो ।

सफाइमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, चीनका लागि नेपाली राजदूत एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, सचिव गोपीनाथ मैनाली, सफाइ अभियानकर्मीलगायत एक हजार ५०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइपछिको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइमा सबैको योगदान हुनुपर्ने बताउनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ४७ संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा विश्व सफाइ अभियानका एलेन दवाडीलगायत पनि सहभागी हुनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २६८ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेजअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिकाको वडा नं ७ को आतिथ्यता र वाग्मती सुन्दरता सरोकार मञ्चको संयोजनमा सफाइ गरिएको थियो । सो अवसरमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउनसमेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ । सफाइमा आउनेलाई नदीभित्र छिर्ने गरी बूट लिएर आउन पनि वाग्मती सुन्दरता सरोकार मञ्चले आह्वान गर्दै आएको छ । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

माटो र कुहिने फोहरलाई डम्पिङ साइटमा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २६२ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको २३४ औँ हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिका बीचको सङ्गमस्थल मनोहर तीर्थबाट मनमैँजुसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । सफाइमा ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा २०८ औँ हप्ताको सफाइ काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको सक्रियतामा भयो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लाष्टिक नजलाऔँ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११७ औँ हप्ताको सफाइ गरियो । ११५ भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

चक्रपथ सफाइ अभियानको १०३ औँ हप्तामा वसुन्धारा चोक क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिनुभयो । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालिलगायत संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

आलोकनगर सफाइको १०३ औँ हप्तामा शान्तिनगर पुलबाट कोटेश्वर पुलसम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । त्यस क्षेत्रमा घर दैलोसमेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो ।

चक्रपथ वाफल खण्ड सफाइको ८५ औँ हप्तामा कारखाना चोकबाट सानोभ¥याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सुरक्षाकर्मीलगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन सकेको छैन । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।

वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा आज त्यहाँका युवाले सफाइ गरेको स्थानीय भुवन लामाले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter