त्रिविले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने

चितवन, असार २९ गते । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो ।

विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश परीक्षाको सूचना प्रकाशित गरिएको जानकारी दिनुभयो । उक्त विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलब्ध गराएर बाँकी रहेको ४० बिघा जमीनमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्न लागेको हो । सो स्थानमा रहेको त्रिविको कृषि क्याम्पस हटेपछि इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गरिने छ ।

सापकोटाका अनुसार रामपुरमा उक्त क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयको कार्यकारी परिषद् र मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि भौतिक संरचना बनिनसकेका कारण समयमै बजेट निकासा नभए यसै शैक्षिकसत्रबाट क्याम्पस सञ्चालन गर्न कठिन हुनेछ । कम्तीमा एउटा कार्यक्रम भए पनि यसै शैक्षिकसत्रबाट सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।

विश्वविद्यालयले रामपुरका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग पहिलो चरणका लागि तत्काल रु १५ करोड माग गरेको र यसै शैक्षिकसत्रको पढाई मङ्सिर १ गतेदेखि गर्ने तयारी गरिरहेको छ । यो समयमा एउटा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले तत्काल सरकारले बजेट उपलब्ध गराएमा सम्भव हुने भन्दै प्रवेश परीक्षाको सूचनामै प्रस्तावित क्याम्पसको नाम राखिएको हो । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने तयारी विश्वविद्यालयको भएको उहाँले जानकारी दिनुभयो ।

सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न १९१ प्राध्यापक र १२८ कर्मचारी आवश्यक पर्ने, काठमाडौँको पुल्चोक र पोखरामा रहेका इञ्जिनीयरिङ क्याम्पस जस्तै व्यवस्थित क्याम्पस रामपुरमा पनि निर्माण गर्न लागिएकाले रु १६ अर्ब हाराहारी खर्च लाग्ने विश्वविद्यालयको अनुमान छ ।

रामपुरमा क्याम्पस सञ्चालनका लागि भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउँदै आएको छ । महानगरप्रमुख रेनु दाहालले आवश्यक बजेटका लागि सरकारसँग पहल गर्ने र नपुग केही बजेट आवश्यक भएमा महानगरले पनि सहयोग गर्ने बताउनुभयो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनीयरिङ क्याम्पस सञ्चालनका लागि आफू महानगरप्रमुख भएदेखि नै पहल गर्दै आएको जानकारी दिँदै उहाँले यसै शैक्षिकसत्रबाट कक्षा सञ्चालनका लागि आवश्यक पहल र सहयोग गरिने जानकारी दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँ चितवनवासी हुनुहुन्छ । कार्यकाल सकिनै लाग्दा रामपुरमा इञ्जिनीयरिङ क्याम्पस शुरु गर्ने धोको आफूमा रहेको खनियाँले बताउँदै आउनुभएको छ । इञ्जिनीयरिङतर्फ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० निजी क्याम्पस छन् । विश्वविद्यालयले यसै वर्ष केमिकल इञ्जिनीयरिङ विषयसमेत पढाउने तयारी गरेको छ । योसँगै इञ्जिनीयरिङ सङ्कायमा १२ विषयको पढाई हुने भएको छ । विद्यार्थीको पहिलो रोजाइमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जिनीयरिङ क्याम्पस पर्ने गर्दछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter