मानव बेचबिखन नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ, असार ३० गते । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो ।

समाजमा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशैभरि सक्रियतासाथ काम गरिरहेको छ । मन्त्रालयले बेचबिखन नियन्त्रणका लागि सिन्धुपाल्चोक र मकवानपुरलगायत जोखिममा रहेका जिल्लाको अध्ययन गरिरहेको छ ।

ती जिल्लामा मानव बेचबिखनको अवस्थाबारे अध्ययनपछि मन्त्रालयले आगामी आर्थिक वर्षमा सचेतनामूलक कार्यक्रम, आयआर्जन र सीपमूलक कार्यक्रम सञ्चालन गर्नाका साथै मानव बेचबिखन न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । मन्त्रालयकै सक्रियातामा गैरकानूनी रुपमा विदेश गएर बिचल्लीमा परेका महिलालाई सुरक्षित साथ स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइएको छ ।

चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुवेत र साउदी अरबलगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जनालाई उद्धार गरी नेपाल फिर्ता गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । मन्त्रालयले पछिल्लो समयमा दलालको फन्दामा परी कुवेतमा बिचल्लीमा परेका नुवाकोट शिवपुरी गाउँपालिका (साविक महाकाली गाविस– ८) की अनु तामाङको नेपाली फिर्तीको लागि पहल गरिरहेको छ ।

त्यसैगरी मन्त्रालयको पहलमा मानव बेचबिखन गर्ने उद्देश्यले भारतको मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजान लागिएको बेला भारतबाट १७९ जनाको उद्धार गरिएको छ । जसमा ३२ पुरुष र १४७ जना महिला रहेका छन् । “मानव बेचबिखन न्यूनीकरणका लागि मन्त्रालयले बेचबिखनसम्बन्धी नियमावली नै संशोधन गर्ने र चेतनामूलक कार्यक्रमका साथै भएका ऐन÷कानूनलाई कडाइसाथ कार्यान्वयन गर्ने तयारी भइरहेको छ”, सहसचिव शर्माले भन्नुभयो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ मा यौनशोषण, श्रम शोषण तथा मानव अङ्ग तस्करीलाई जघन्य सामाजिक अपराधका रुपमा परिभाषित गरिएको छ । संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३८ मा महिलाको हक र धारा २९ मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचबिखन गर्न दास वा बाधा बनाउन पाइनेछैन भनी मानव बेचबिखन विरुद्धको कार्यलाई, मौलिक हकका रुपमा समावेश गरिएको छ । गैरकानूनी रुपमा विदेश जानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि दोस्रो र तेस्रो पटकसम्म जाने र समस्यामा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएकाले पनि मन्त्रालयले नियमावली संशोधन गर्ने तयारी गरेको हो ।

ऐनअनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन् बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विश्वभरि २.९ करोड मानिस दासत्वका रुपमा रहेको अनुमान गरेको छ । अशिक्षा, गरीबी, बेरोजगारीसँगै प्रविधिको विकासले पनि मानव बेचबिखन दिन प्रतिदिन बढ्दै गएको छ । आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिलाहरु सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् ।

मानव बेचबिखन तथा नियन्त्रण कार्यको मुख्य दायित्व सरकारको भए पनि सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्बन्धित सङ्घ÷संस्था, निजी क्षेत्र, विकास र साझेदारहरु र नागरिक समाजले संयुक्त रुपमा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter