वर्षाको सम्भावना कायमै, ७८ जनाको मृत्यु, राहत कार्य तीब्र

काठमाडौं, असार ३१ गते । देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराईमा बहने नदीहरुमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीनदिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने नेपाल बाढी सूचनाले जनाएको छ । आज पूर्वमा कन्काई, विरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा,मोहना, मछेलीका शाखा नदीहरूलगायत दाङ, बाँके, वर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेको छ । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार भोलि साउन १ गते दिउँसो र राति देशभर सामान्य बदली भई वर्षा हुने सम्भावना छ । देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुनेछ । यस्तै, साउन २ गते दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा वर्षा हुने र राति देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ ।

बाढीपहिरोका कारण ७८ जनाको मृत्यु

केही दिनदेखि अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन् । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिइएको छ ।

बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।

राजमार्ग खुलाउने प्रयास जारी

उदयपुर–गाईघाट–खोटाङ, खोटाङ–हलेसी–तुवाचुङ, महोत्तरी–जनकपुर–जलेश्वर (भाप्सी खोला डाइभर्सन), सिन्धुली–मध्यपहाडी लोकमार्ग, कान्ति लोकपथ (हेटाँैडा), कुलेखानी–फाखेल–फर्पिङ, बेँसीशहर–मनाङ, धुञ्चे–रसुवागढी सडक खुलाउने प्रयास जारी रहेको सरकारले जनाएको छ ।

यस्तै, हेटाँैडा–दक्षिणकाली, भालुवान–प्युठान, गोरखाको बाह्रकिलो–बारपाक तथा साघारादेखि सिरहा जाने हुलाकी राजमार्गसमेत खुलाउने प्रयास भइरहेको छ । केही सडक भने सञ्चालनमा आइसकेको गृह मन्त्रालयले जनाएको छ ।

बाह्र हजार त्रिपाल पठाइयो

तीनै तहका सरकारले राहत वितरण कार्यलाई तीव्रता दिएका छन् । त्रिपाल, खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले राहत वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश नं ३ को गोदाम घर हेटाँैडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन–तीन हजार थानका दरले १२ हजार वटा त्रिपाल र चार रोल म्याटसहित राहत सामग्री पठाइएको छ । गृह मन्त्रालयले ललितपुर जिल्लाको गोटीखेल र गिम्दीका लागि हेलिकप्टरबाट ४० थान त्रिपाल पठाएको र तराईमा थप एक हजार एकसय थान त्रिपाल र जेनेरेटर पठाएको जनाएको छ ।

राहत प्याकेज

प्रदेश –२ सरकारले उद्धार तथा राहतमा खर्च गर्ने गरी आठवटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि दश लाख रुपियाँका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक परिवारलाई प्रतिमृतक तीन लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश–३ सरकारले मृतक परिवारलाई प्रतिमृतक एकलाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

केन्द्र सरकारले राहत तथा उद्दार कार्यमा तदारुकताका साथ प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिनुको साथै घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter