पाँचखालमा भेटियो लिच्छविकालीन भग्नाबशेष

मधुसुधन तिमल्सिना, पाँचखाल असार ३१ गते । पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ७ को श्रीरामपाटीमा पुरातत्व विभागको टोलीले १५ दिन सम्म सम्पदाको अध्ययन तथा उत्खननका क्रममा लिच्छविकालीन संरचनाको भग्नावशेष भेटिएको जनाएको छ ।

सो टोलीले यही जेठ १५ बाट करिब दुई हप्ता श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानमा उत्खनन कार्य गरेको थियो । विभागले उत्खननमा भेटिएका सामग्री परीक्षणका लागि लगेको स्थानीय एवम् अभियन्ता श्रीकृष्ण धिमालले जानकारी दिनुभयो । उहाँले स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएकाले त्यस अनुसार खोजी नीति गरेको बताउनुभयो । स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग राखेका हौँ, धिमालले भन्नुभयो ।

पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठकले पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङ्गाको गारो कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना भेटिएकोे बताउनुभयो । करीब दुई साताको अवधिमा गरिएको उत्खनन/परीक्षणका क्रममा माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको उहाँले बताउनुभयो ।

वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले भेटिएको संरचना र सामग्री लिच्छवीकालीन भएको बताउनुभयो । पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठकको नेतृत्वको टोलीमा वरिष्ठ पुरातत्व विज्ञ आचार्य तथा इञ्जिनियर लगायत छ जनाको टोलीले उक्त क्षेत्रको उत्खनन गरेको हो । पाँचखाल नगरपालिकाले पलाञ्चोक उपत्यका पुरातात्तिक खोज तथा संरक्षण समिति बनाएर अध्ययन थालेको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेल अध्यक्ष र समितिका सदस्यसचिवमा श्रीकृष्ण धिमाल हुनुहुन्छ ।

स्थानीयका अनुसार १४६२ मा पलाञ्चोक उपत्यकामा शक्ति सिंहले राज्य सञ्चालन गरेको कथन पाइन्छ । शक्ति सिंहले पलाञ्चोकमा स्वतन्त्र किसिमले शासन गरेका थिए । पुरातत्व विज्ञ आचार्यसहितको टोलीद्वारा गत साल चैतमा प्रारम्भिक अध्ययन गरिएको थियो । त्यस क्रममा एउटा सिक्का भेटिएको थियो जसमा एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा भेटिएका सबै सामग्री पनि लिच्छवीकालीन हुन् ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले पाँचखालमा भेटिएका प्राचीन, ऐतिहासिक अभिलेख र भग्नावशेषको प्रतिवेदन तयार गर्ने काम भइरहेको बताउनुभयो । पाँचखालमा प्राचिन, ऐतिहासिक अभिलेख र भग्नावशेष भेटिएको हो तर यथार्थ कुरा प्रतिवेदन पछि मात्र बाहिर आउने छ उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter