नेपाल प्रहरी : दक्षिण एसियामै उत्कृष्ट

देवबहादुर कुँवर / काठमाडौँ, साउन १२ गते । कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको रहस्यमय हत्या घटनाका दोषी पत्तालगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरी अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ । निर्मलाको रहस्यमय हत्या भएको एक वर्ष पूरा भएको छ तर प्रहरीको अनुसन्धानले अपराधी नजिक पुगेको दाबी गरे पनि नतिजा केही देख्न सकिएको छैन । कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९) सूचकाङ्कले नेपाललाई सार्क राष्ट्रमा नै उत्कृष्ट देखाएको छ । ‘रुल अफ ल’ कार्यान्वयनमा नेपाल विश्वको ५९औँ स्थानमा छ । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का ११२ देखि १२३ सम्मका
स्थानमा छन् ।

सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि निर्माण गरिएका कानुन, कानुनको कार्यान्वयनमा सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी, भूमिका र कामकारबाहीलाई सूचकाङ्क वर्गीकरणमा समेट्ने गरेको विश्व न्याय प्रोजेक्ट (वल्र्ड जस्टिस प्रोजेक्ट)ले जनाएको छ । त्यस्तै, विश्व पिस इनडेक्स–२०१९ नेपाल ७१औंँ स्थानमा परेको छ । शान्ति सुरक्षाका लागि नेपाल अर्जेन्टिना पछि आउँछ । आइसल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ती देशमा अपराधका घटना हुनै छोडेपछि जेलसमेत भत्काउन थालिएको छ ।

दक्षिण एसियाका आठ देशमध्ये नेपाल शान्त र सुरक्षित गन्तव्यका रूपमा पहिलो स्थानमा छ । यो इन्डेक्सले पर्यटन वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना मुलुकको सिङ्गो सुरक्षा अवस्थालाई एउटा घटनासँग दाज्न नमिल्ने बताउनुहुन्छ ।

एसियाली विकास बैङ्क (एडीबी)ले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले नेपालको ६४ प्रतिशत जनता प्रहरी सेवाप्रति खुसी हुने गरेको देखाएको छ । प्रहरी कर्मचारी (व्यक्ति) भन्दा संस्थाबाट प्रदान हुने सेवालाई सर्वसाधारणले मन पराउने गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घ (यूएन)को मापदण्डअनुसार एक प्रहरी कर्मचारी बराबर ३३३ जना नागरिक हुनुपर्ने छ तर नेपालमा भने ४३५ जना पर्ने गरेको छ । पर्याप्त स्रोतसाधनको अभावका अतिरिक्त वार्षिक ७२.८ प्रतिशत मुद्दाको सफल अनुसन्धान हुने गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल अपराधका घटना आश्चर्यजनक ढङ्गले वृद्धि भइरहेका बेला यतिको सफलता हुनुमा सेवाग्राहीको प्रहरीप्रतिको विश्वास भएको बताउनुहुन्छ ।

कुल दरबन्दी ७६ हजार भए पनि करिब ६५ हजार जनशक्ति कार्यरत छन् । त्यसमा अपराध अनुसन्धानमा करिब पाँच प्रतिशत दक्ष जनशक्ति छन् । यो जनशक्तिलाई एक वर्षभित्रमा १० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।
प्रत्येक वर्ष विभिन्न प्रहरी कार्यालयमा ४३ हजार मुद्दा दर्ता हुने गर्छन् । ती मुद्दामा संलग्न ४० हजार अभियुक्त पक्राउ पर्छन् ।

“प्रहरीले आचरण र व्यवहार सुधार गर्ने हो भने थप उपलब्धि हासिल गर्नेमा कुनै अवरोध छैन”, समाजसेवी ताराबहादुर कुँवर भन्नुहुन्छ, “गाह्रो पर्दाको साथी र सहयोगी प्रहरी नै हो, कहिलेकाहीँ पेसाको दुरुपयोग हुँदा सङ्गठनको नै बदनाम हुनपुग्छ । ”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter