जुम्लाको स्याउ पाक्न सुरु, रंगिए बगैचा

नेत्र शाही, खलंगा, साउन १८ गते । जुम्लाको अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ । साउन महिनादेखि केही स्याउ पाक्न थालेपछि अहिले स्याउका बगैचा राताम्मे भएका छन् ।

जुम्लाको एक मात्र धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ । स्याउ पाक्न थालेपछि धेरैजसो स्याउमा रातो रङले भरिने भएकाले अहिले जुम्लाका स्याउ बगैंचा रातै देखिएका छन् ।

किसानका स्याउका वगैचा अहिले एकातिर लटरम्म फलेको स्याउको फलले भरिएका छन्भने अर्कोतिर स्याउ रोपिएका डाँडाका पाखा र खेत पनि रंगिन भएका छन् । यो बर्ष बर्षा र हावाहुरी अत्याधिक आएको हुँदा स्याउ कति फल्ने हो त्यो आंकलन गर्न वाँकी रहेको प्राविधिकहरु बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लाको तीन हजार ४५० हेक्टर क्षेत्रफलमा स्याउका विरुवा रोपिएका छन् । त्यो मध्ये ९०० हेक्टरमा स्याउ फल्ने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । आर्थिक बर्ष २०७४÷०७५ को तथ्यांक अनुसार पाँच हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने गत आर्थिक बर्षमा १७ करोड रुपियाँ बढीको स्याउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा जुम्लामा स्याउ खेती भने फष्टाउन थालेको छ । किसानहरु स्याउ बगैचा निर्माणमा धमाधम लागेपछि जुम्लाको धेरैजसो घरधुरीमा स्याउका बगैचाहरु लगाइएका छन् । १० बर्ष अगाडि जुम्लाको १४ औ जिल्ला परिषदले एक घर एक स्याउ बगैचा भन्ने अवधारणा ल्याएपछि किसानहरुलाई स्याउ खेतीतिर केन्द्रीत गर्न जिल्ला कृषि विकास कार्यालयको अभियान सफल बन्दै गएको हो ।

झण्डै १४ हजार स्याउ बगैचा तयार गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांकमा छ ।

दुई बर्ष यता जुम्लामा पुरानो जातका स्याउहरुसँगै नयाँ प्रविधि हाइडेन्सिटिका स्याउ भित्रिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका अनुसार जुम्लामा इटालियन फुजी र गालानामक स्याउ समेत फल्न थालेका छन् । सुपरजोन जुम्लाका कृषि वैज्ञानिक जोगेन्द्र कान्तुका अनुसार पुराना स्याउ विरुवाको संरक्षणसँगै नयाँ प्रविधिका कामहरु सुपरजोनले गर्दै आएको छ ।

यो बर्ष चाँडै रातो भएको र गुलियो हुन अझै समय लाग्ने उहाँले बताउनुभयो । उहाँले साउन महिनामा अम्ब्रे, मेकलतोष स्याउ पाकिसकेका छन् । यसैगरी भदौ १५ पछि मात्र स्याउ टिप्न मिल्ने उहाँको सुझाव छ । चन्दननाथ सेरा यूलाको करिब १० हजार बर्ग मिटरमा युवाहरुको समूहले स्थापना गरेको हाम्रो कृषि सहकारी सस्थाले एक हजार ३०० विरुवा र जुम्ला एग्रो फर्मले दुई हजार ५०० स्याउका विरुवा रोपेको छ । अहिले सेराज्यूलो रातो फुजी स्याउले रंगिएको छ ।

एक दशकदेखि सुर्खेत जुम्ला कर्णाली राजमार्ग जोडिएपछि यहाँका किसान स्याउ खेती तर्फ बढी लागेका छन् । अहिले किसानहरुले साउबाट २० हजारदेखि १५ लाख रुपियाँ आम्दान ीगरिरहेका छन ।

वि.सं २०३२ सालमा तत्कालनि रानी ऐश्वर्यको जुम्लामा भ्रमण भएपछि यहाँको चन्दननाथ नगरपालिका तत्कालिन कार्तिकस्वामी गैरागाउँँमा स्याउको वागवानी केन्द्र स्थापना भएको कृषि प्राविधिकतथा स्थानीय खेमराजशाहीले बताउनुभयो ।

उहाँले वागवानी केन्द्रमा रानीको आगमनपछि बि.सं २०३४ सालमा स्याउका विरुवाहरु उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानहरुले नमूनाको रुपमा अगाडि बढाएको बताउनुभयो । अहिले जुम्लामा कम्तिमा १२ जातका स्याउहरु फल्ने कृषि विज्ञहरुले बताएका छन् । कृषि प्राविधिक शाहीका अनुसार जुम्लामा हाल रोपिएका फल्ने स्याउहरु गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालिएन फुजी र गालासहित एक दर्जन स्याउका विरुवा रोपिएका र फल्ने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter