नेपाल र भारत आपसमा अन्तरनिर्भर, परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, साउन २९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ ।

भारतको ७३ आँै स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताउनुभयो ।

मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५/६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताउनुभयो ।

नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्वौं रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजनाहरु अघि बढेको उल्लेख गर्दै उहाँले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिनुभयो । नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले भारत विश्वमा साँच्चिकै एक शक्तिका रुपमा उदाएको र मानवजातिको उन्नतिका लागि नमूनाका रुपमा काम गरिरहेको बताउनुभयो ।

नेपाल–भारतबीच सम्बन्धका चार तह रहेका बताउँदै उहाँले राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक सम्बन्धमध्ये आर्थिक सम्बन्ध महत्वपूर्ण हुने र नेपालको व्यापार घाटा कम गर्दै लैजानका लागि भारतसँग सहयोग र सद्भावना लिनुपर्दछ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थ एव्म परराष्ट्रमन्त्री डा रामशरण महतले भारत धेरै देशको लोकतान्त्रिक सङ्ग्रामका लागि पनि प्रेरणादायी रहेका उल्लेख गर्दै विपी कोइराला, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी आदि नेताहरु भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिनुभएकाले नै त्यसैबाट प्रभावित भएर नेपालमा पनि प्रजातन्त्रका लागि क्रान्ति भएको र संसदीय प्रणाली अपनाउन पुगेको बताउनुभयो ।

भारतको बाटो भई ९० प्रतिशतभन्दा बढी सामान आउने गरेको बताउँदै उहाँले भारतबाट धेरै लगानी होस्, प्रविधि आओस् र पर्यटक धेरै आऊन्, नेपाली उत्पादन पनि भारत जाने वातावरण बनोस् भन्नुभयो ।

भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालका नेताहरु विपी, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, तुल्सीलाल अमात्य आदिको भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागिता मात्र होइन, भारतीय नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाले नेपालको हनुमाननगरमा शरण लिनुभएकोबाट पनि नेपाल–भारत सम्बन्धबारे आँकलन गर्न सकिने बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेभन्दा बढी बहुमत हासिल गर्नुभएकाले अहिले पूर्णतया विकासमा केन्द्रित भएको र अहिले विश्वमै उच्च आर्थिक वृद्घि हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री मोदीले सन् २०१८ मा दुई पटक नेपाल भ्रमण गर्नुभएको र नेपालका जनकपुर, मुस्ताङ जस्ता पर्यटकीयस्थलमा उहाँको भ्रमणले ती ठाउँमा भारतीय पर्यटकको ठूलो सङ्ख्यामा वृद्घि भएको उल्लेख गर्दै उहाँले नेपाल–भारत सहयोगमा वीरगञ्जमा अन्तर्राष्ट्रिय जाँच चौकी (आइसिपी) उद्घाटन भएको, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको र उद्घाटन हुन मात्र बाँकी रहेको, गत वर्ष शिलान्यास भएको अरुण तेस्रोको निर्माणले गति लिएको र यो आयोजना सम्पन्न भएमा नेपालमा गुणात्मक परिवर्तन हुने बताउनुभयो । भारतले काश्मिरबारे लिएको निर्णयले त्यहाँको विकास हुने र भारत सुदृढ हुने पनि उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter