लक्ष्य अनुसारकै आर्थिक वृद्धि

विश्वास रेग्मी / काठमाडौँ, साउन २९ गते । गत फागुन २१ गते आर्थिक वर्ष २०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उपलब्ध परिसूचकका आधारमा आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि जाने देखिएको दाबी गर्नुभएको थियो ।

“वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा नै हुन्छ,” त्यतिबेला उहाँको भनाइ थियो । सूचनाको हकबमोजिम अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको विवरणअनुसार अर्थमन्त्रीको प्रक्षेपणकै हाराहारीमा आर्थिक वृद्धि हासिल भएको उल्लेख छ । उक्त विवरणअनुसार आर्थिक वृद्धि ७.०५ प्रतिशत पुगेको छ । यद्यपि, यो वृद्धिदर पनि प्रारम्भिक अनुमान भएको उल्लेख गरिएको छ ।

सात प्रतिशत माथिको आर्थिक वृद्धि हासिल भएसँगै पछिल्लो तीन वर्ष नेपालले निरन्तर ६ प्रतिशत माथिको आर्थिक वृद्धि हासिल गर्न पनि सफल भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गत वैशाख १३ गते अघिल्लो आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धि ६.८१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार अघिल्लो साउनदेखि जेठसम्मको तथ्याङ्कअनुसार मुद्रास्फीति ४.५ प्रतिशत कायम छ । त्यस्तै देशको समग्र शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपियाँ घाटामा छ । अघिल्लो आवमा व्यापार घाटा भने १३ खर्ब २० अर्ब रुपियाँको हाराहारीमा पुगेको थियो । त्यस्तै जेठसम्मको तथ्याङ्कअनुसार करिब ८ महिनाको वस्तु तथा सेवाको आयातलाई पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ । जेठसम्म विपे्रषणका रूपमा करिब आठ खर्ब रुपियाँ नेपाल भित्रिएको विवरण पनि अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

राजस्व सङ्कलनको अवस्था भने लक्ष्यअनुसार थोरै मात्र अपुग देखिएको छ । अघिल्लो आवमा ८ खर्ब ६० अर्ब रुपियाँ राजस्वको संशोधित लक्ष्य राखिएकोमा ८ खर्ब ५९ अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन भएको उल्लेख छ । यद्यपि, यो रकम त्यसको अघिल्लो आवको तुलनामा भने २२.६१ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । संशोधित बजेटको लक्ष्य अनुसारको खर्च पुग्न नसकेको पनि मन्त्रालयको विवरणले देखाउँछ । कुल १३ खर्ब १५ अर्ब १६ करोड रुपियाँको बजेट प्रस्तुत गरिएकोमा मन्त्रालयले अर्धवार्षिक समीक्षा गर्दै बजेटको संशोधित लक्ष्य १२ खर्ब ८ अर्ब रुपियाँ तोकेको थियो ।

तोकिएको उक्त बजेटमध्ये ९१.२ प्रतिशतमात्रै अर्थात् १० खर्ब ९४ अर्ब रुपियाँमात्र खर्च भएको पनि विवरणमा उल्लेख छ । अघिल्लो आवमा चालूतर्फ ७ खर्ब ८३ अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य राखिएकोमा ८९.६ प्र्रतिशत अर्थात् ७ खर्ब १५ अर्ब रुपियाँ खर्च भएको तथ्याङ्क छ ।

त्यस्तै २ खर्ब ७३ अर्ब रुपियाँ पुँजीगत गर्ने लक्ष्य रहेकोमा ८९.८ प्रतिशत अर्थात् २ खर्ब ३८ अर्ब रुपियाँ खर्च भएको छ । चालूभन्दा अघिल्लो आवमा पुँजीगत खर्च बढी भएको पाइएको छ । वित्तीयतर्फ १ खर्ब ५२ अर्ब खर्चको लक्ष्य रहेकोमा १ खर्ब ४१ अर्ब खर्च भएको छ । यो कुल वित्तीय खर्चको लक्ष्यमध्ये ९२.४९ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार सबै किसिमका खर्च आर्थिक वर्ष २०७४÷७५ को तुलनामा बढी हो । अघिल्लो आवमा कुल खर्च ०.८ प्रतिशत, पुँजीगत खर्च १२.२ प्रतिशत, चालू खर्च २.६ प्रतिशत र वित्तीय खर्च २०.५ प्रतिशतले बढी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

सरकारले अघिल्लो आवमा आन्तरिक ऋणका रूपमा ९६ अर्ब ३८ करोड रुपियाँ परिचालन गरेको छ । त्यस्तै वैदेशिक सहायता अनुदानतर्फ ३३ अर्ब ४३ करोड र ऋण सहायतातर्फ १ खर्ब चार अर्ब गरी कुल १ खर्ब ३८ अर्ब रुपियाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता भएको पनि विवरणमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter