भक्तपुर क्यान्सर अस्पताल बिरामीले पाउन थाले सहज सेवा

सरोज ढुङ्गेल / भक्तपुर, भदौ १० गते । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ । सेवाग्राहीले पाउने सेवामा कुनै समस्या नभए पनि अस्पतालमा पुरानो व्यवस्थापन समिति र नगरपालिकाबीच अधिकारको विषयमा भने तनाव कायमै छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालको सेवा सञ्चालन भइरहेको जानकारी दिँदै दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको बताउनुभयो । नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिन सकेको जानकारी दिँदै उहाँले बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको प्रस्ट पार्नुभयो ।

उहाँले पुरानो व्यवस्थापन हुँदा दैनिक ८० जना बिरामी भर्ना हुने गरेकामा हाल १२० जना बिरामी भर्ना हुने गरेको जानकारी दिनुभयो । पुरानो समिति हुँदा दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको डा. श्रेष्ठले बताउनुभयो । पछिल्लो समय बिरामी भर्नाका लागि आवश्यक बेडसमेत नभएको उहाँको भनाइ छ ।

नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति विघटन गरेर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि सेवामा सहजता आएको हो ।

भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा व्यापक भ्रष्टाचार भएको, नगरपालिकासँग गरेको सम्झौता कार्यान्वयन नगरेको, अस्पताललाई मनोमानी ढङ्गबाट सञ्चालन गरेको भन्दै स्थानीय र अस्पतालकै कर्मचारीहरूको लिखित उजुरी आएपछि नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गर्दा नगरपालिकाको जग्गा दिएर सञ्चालन गरेको जानकारी दिँदै पछिल्लो समय मनोमानी ढङ्गले सञ्चालन गरेपछि नगरपालिकाले सहज ढङ्गबाट अस्पताल सञ्चालन गर्न पुरानो व्यवस्थापन समिति खारेज गरेको बताउनुभयो ।

उहाँले विभिन्न राजनीतिक दलले अस्पतालको नाममा राजनीतिक गर्न खोजेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाभित्रको विषयलाई अभिभावकत्व ग्रहण गरेर अस्पताल सञ्चालन गरेको बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरनाफामूलक संस्थाको नामबाट सञ्चालनमा आएको थियो ।

प्रमुख प्रजापतिले गैरसरकारी संस्थाबाट सञ्चालित अस्पताललाई महालेखा परीक्षकको कार्यालय, अख्तियार अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतको निकायबाट समेत नछुने भएकाले पछिल्लो समय व्यापक भ्रष्टाचार मौलाएको जानकारी दिनुभयो । उहाँले अस्पतालका पदाधिकारीलाई पटक–पटक छलफलका लागि बोलाउँदासमेत नआएपछि नगरपालिका मातहतमा ल्याइएको बताउनुभयो ।

क्यान्सरजस्तो प्राणघातक रोगको विशिष्ट उपचार हुने संवेदनशील अस्पतालमा व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरूको गैरजिम्मेवारीपनकै कारण हस्तक्षेप गर्नुपरेको जानकारी दिँदै प्रजापतिले स्थानीय जनप्रतिनिधिको नाताले आफ्नै क्षेत्रभित्रको अस्पतालमा देखिएको समस्यालाई तत्काल समाधान गरेको बताउनुभयो ।

उहाँले अस्पतालको हाताभित्र सञ्चालित ल्याब सेवा, फार्मेसी सेवा र सिटी स्क्यान सेवामा खरिद ऐनअनुसार आवश्यक प्रक्रिया पूरा नगरी निजी क्षेत्रलाई मनोमानी ढङ्गबाट जिम्मेवारी दिएको जानकारी दिँदै अस्पतालमा हाल कार्यरत डाक्टर, नर्स र अन्य सेवाका कर्मचारीलाई नियमपूर्वक अस्पतालको तर्फबाट तलब सुविधा नदिएको बताउनुभयो । प्रजापतिले यसअघिको व्यवस्थापन पक्षले कर्मचारीको श्रमशोषण गरेको आरोपसमेत लगाउनुभयो ।

उता तत्कालीन व्यवस्थापन समितिका पदाधिकारी नगरपालिकाले कानुनविपरीत कार्य गरेको भन्दै सर्वोच्च अदालत पुगेका छन् । विघटित व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले नगरपालिकाले कानुनविपरीत हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter