आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेका छौंः अर्थमन्त्री

काठमाडौँ, भदो१२ गते ।अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिनुभयो । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक वातावरण बनाएको उहाँको भनाइ छ ।
नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएको उहाँले उल्लेख गर्नुभयो । विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उहाँले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताउनुभयो ।
विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।
सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले आवश्यक तयारी गरेको जानकारी सरकारलाई गराएको भन्दै उहाँले प्रचारप्रसारको अभावमा सरोकार भएका सबैले सो विषयमा आवश्यक जानकारी पाउन नसकेको पनि हुन सक्ने बताउनुभयो ।
सहुलियतपूर्ण कर्जा लिएर कृषि क्षेत्रमा लागेकाहरुले राम्रो प्रतिफल पाउन थालेको भन्दै मन्त्री डा खतिवडाले चालू आर्थिक वर्षमा सो कार्यक्रमले थप प्रभाव देखाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कतिपय दातृ निकायका सर्तका कारण पनि भूकम्पपछिको पुनः निर्माणलगायतका विषयमा प्रतिबद्धता अनुसारको रकम प्राप्त हुन नसकेको बताउनुभयो । अर्थमन्त्री डा खतिवडालाई सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, महेश बस्नेतलगायतले प्रश्न गर्नुभएको थियो ।