नेपाल भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारी जरुरी

काठमाडौँ, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताउनुभएको छ ।

पदयात्री व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली हुनुमा गौरव गर्दै यहाँ आउने पर्यटकलाई सेवा भावका साथ आतिथ्य सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“पर्यटन क्षेत्र नेपालको प्रचुर सम्भावना भएको क्षेत्र हो, जसको विकास हामीले इमान्दारिता र पारदर्शी तरिकाले ग¥यौ भने नेपाल साँच्चिकै विश्वको सुन्दर त छँदैछ, समृद्ध बनाउन पनि यसले ठूलो गोगदान गर्दछ”, अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारीमा अझ बृहत्तर ढङ्गले अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा लामो राजनीतिक सङ्घर्ष र वलिदान पश्चात लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र अब आर्थिक समृद्धिको नयाँ युगतिर नेपाललाई लैजान निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहनका साथ सहकार्य गरेर राज्य अगाडि बढेन भने समृद्धिको सपना सार्थक नहुने धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले विश्वभर नेपालको छवि कस्तो बनाउने भन्ने पर्यटन व्यवसायीको हातमा रहेको उल्लेख गर्दै पर्यटक पाहुनालाई दुहुनो गाई जस्तो ब्यवहार नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “नेपाली बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि त छ, तर यदाकदा केही नकारात्मक घटना हँुदै गरेको सुनिन थालेको छ, हामी अतिथि देवो भव भन्ने मन्त्र भन्छौ तर ‘कहिलेकाहीँ अतिथि देवो भव हैन अतिथि दुहुने गाई हो’ भनेजस्तो गरी भए भरको एकैपटक दुहुन खोज्ने घटना सुनिन आएका छन् यसप्रति जिम्मेवार हुनुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रको साझेदारी अपरिहार्य भएको बताउनुभयो ।

मुलुकको पर्यटन क्षेत्रमा देखिएका तमाम समस्याको समाधान हामी आफँै मिलेर गर्ने हो भन्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न पनि आग्रह गर्नुभयो ।

पदयात्रा र पर्वतारोहणलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका समस्यालाई समाधान गर्ने व्यवसायीको मागलाई सरकारले छिट्टै सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री भट्टराईले लामो समयदेखि जम्मा भएको पदयात्री सूचना व्यवस्थापन प्रणालीको (टिम्स) रकम निकासा गरिने विश्वास दिलाउनुभयो ।

विदेशी पर्यटकको आगमनलाई व्यवस्थित र उनीहरुको बसाइँलाई सुरक्षित गर्ने लक्ष्यसहित दुई नयाँ प्रणाली ‘टुरिज्म स्याटेलाईट एकाउन्ट’ र ‘जिपिएस सिस्टम’ छिट्टै निर्माण गर्ने तयारी गरिएको उल्लेख गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै प्रतिबन्धित पर्यटकीय क्षेत्र तथा हिमाल आरोहण खुलाउने वातावरण सिर्जना गरिने बचन दिनुभयो ।

टानका संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले नेपालमा आउने विदेशी पर्यटकको स्वागत सत्कारमा कुनै किसिमको कञ्जुस्याइँ नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

टानका अध्यक्ष नवराज दाहालले पदयात्रा क्षेत्रमा देखिएको विकृतिको अन्त्य र गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न राज्यले विशेष कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्ष अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको सहकार्यलाई बलियो बनाउनुपर्छ भन्नुभयो ।

राससकर्मी अधिकारी सम्मानित

पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै टानले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता सिवी अधिकारीलाई ‘टान जर्नालिज्म अवार्ड’ द्वारा सम्मान गरेको छ ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले उक्त अवार्ड समाचारदाता अधिकारीलाई प्रदान गर्नुभयो । यस्तै, अनलाइन खबरका अच्युत पुरी, दी हिमालयन टाइम्सका अर्पना आले र पत्रकार तथा सगरमाथा आरोही कल्पना महर्जनलाई टान जर्नालिज्म अवार्ड प्रदान गरियो ।

टानले यसै वर्षदेखि शुरु गरेको ‘स्व रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’ बाट सगरमाथाको २४ पटक आरोहण गर्नुहुने कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गरिएको छ । त्यसैगरी गाउँ पर्यटन प्रवद्र्धनमा योगदान गर्ने प्रा डा प्रेम शर्मालाई डा हर्क गुरुङ पुरस्कार तथा आरोही माया शेर्पालाई सम्मान गरियो ।

टानको आगामी दुई वर्षे नयाँ नेतृत्व चयनका लागि अहिले मतदान प्रक्रिया चलिरहेको छ । टान निर्वाचनका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी र अञ्जान थापा (कुमार) समूहले छुट्टाछुट्टै प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter