नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई उपराष्ट्रपतिकाे आह्वान

काठमाडौँ, भदौ २१ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लगानीकर्ताको रकम र प्रतिफलको सुरक्षाको सुनिश्चिताका लागि नेपालमा पर्याप्त ऐन कानून छन् ।”

उपराष्ट्रपति पुनले नेपालमा पर्यटन, जलविद्युत्, खनिज पदार्थको उत्खनन, जडीबुटीको व्यावसायिक खेती तथा प्रशोधन, यातायातको सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, कृषि प्रविधि र औजार उत्पादनलगायत अनेकन क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ, ढुक्क भएर पैसा हाल्नुस् ।”

उपराष्ट्रपति पुनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मात्र नभई कृषि अनुसन्धान, प्रयोगशाला, सेवा व्यवसाय, विद्युतीय सवारीसाधन, केवलकार र सुरुङमार्ग निर्माणमार्फत पनि यातायात क्षेत्रमा लगानीका प्रशस्त अवसर छन् भन्दै चीनसँगको साझेदारी र सहकार्यबाट नेपालको समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि नेपालको प्राथमिकताको क्षेत्र भएको तर, दुई अर्ब अमेरिकी डलर बराबरका कृषि उपज वर्षेनी आयात हुने गरेको कटु यथार्थ सुनाउँदै उहाँले कृषि उपजको आयात प्रतिस्थापन गर्न यस क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफल सुनिश्चित हुन्छ भन्नुभयो । उपराष्ट्रपति पुनले जैविक फलफूल र सागसब्जीको विश्वबजारमा ठूलो माग रहेको बताउँदै कतार र संयुक्त अरब इमिरेट्समा नेपाली जैविक उत्पादन निर्यात हुनेको जानकारी पनि दिनुभयो ।

नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई ६४ वर्षदेखिको कूटनीतिक माध्यमले अझ सुदृढ र सवल तुल्याएको बताउँदै उहाँले बेला–बेलामा दुवै देशबाट उच्चस्तरमा हुने भ्रमण आदानप्रदानले पारस्परिक मैत्रीलाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।

नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको जानकारी दिँदै सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताउनुभयो ।

एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहो¥याउँदै उहाँले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ ।” नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उहाँले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गर्नुभयो ।

अध्यक्ष प्रचण्डले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताउनुभयो ।

नेपालले मात्र नभइ विश्वले नै चीनतर्फ लगानीका निम्ति हेरिरहेका तथा उसले गरेको विष्मयकारी विकासबाट अधिकाधिक लाभ लिन खोजेका बताउँदै उहाँले नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार हो भन्नुभयो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समस्यारहित नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताउनुभयो ।

चिनियाँ लगानीकर्ताले नेपालमा पूँजी लगाउन चाहेका तर उनीहरुमा शङ्का र जिज्ञासा रहेकाले त्यसलाई निवारण गर्न नेपालमा नै मञ्चको बैठक आयोजना गरिएको बताउनुभयो ।

मञ्चको एक दिवसीय बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री र उहाँहरुका प्रतिनिधिले आ–आफ्ना प्रदेशका औद्योगिक विकासका सम्भावनाबारे विस्तृत विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा ५० भन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी छन् ।

बैठकमा चाइना कमर्सियल स्टक इन्टरप्राइजेजका नायब महासचिव ली छुसोङले नेपालमा औद्योगिक प्रतिष्ठान स्थापनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter