छाेराछाेरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू

विराटनगर, भदौ २२ गते । अप्ठ्यारोसँग माउस चलाउँदै एकजना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै हुनुहुन्थ्यो । चारदिन अघिमात्र जीवनमा पहिलो पटक उहाँको हातले माउस छोएको थियोे । ‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला साहले भन्नुभयो ‘यो स्कुलले हामी अभिभावकलाई पनि कम्प्युटर पढाउँछु भनेर बोलाएपछि म त खुसी हुँदै सिक्न आएँ ।’

कक्षा ९ सम्म पढ्नु भएकी बुढिगंगा गाउँपालिका २ सख्माटोलकी सुशिलालाई चार दिनमै कम्प्युटरको माउस र किबोर्ड चलाउन निकै सजिलो लागिसकेको छ । ‘कम्प्युटर मोबाइल जस्तो होइन गाह्रो हुन्छ भन्थे साथीहरु,’ नगरग्राम नमूना माध्यामिक विद्यालयमा कम्प्युटर सिकिरहनु भएकी सुशिलाले भन्नुभयो ‘आँट गर्दा त सकिने रहेछ मलाई त मोबाइल भन्दा कम्प्युटर नै सजिलो जस्तो लागिरहेको छ ।’

बुढीगंगा गाउँपालिका १ की चनर ऋषिदेव पनि आजभोली नियमित विद्यालयमा कम्प्युटर सिक्न जानुहुन्छ । चार दिनमा कम्प्युटरमा हिसाव सिकिरहनुभएकी चनर गाउँमा समूह बचत पनि सञ्चालन गर्नुहुन्छ । ‘हाम्रो टोलको बचतको हिसाब कम्प्युटरमा राख्न मन भए पनि ज्ञान थिएन,’ चनर ऋषिदेवले भन्नुभयो ‘विद्यालयले हामीलाई पनि सिकाउँछ भन्ने थाहा पाएपछि सिक्न आएको हुँ अब बचतको हिसाब राख्ने तरिका पनि यही सिक्छु ।’

सुशिला र चनर मात्र होइन बुढिगंगा गाउँपालिकाका अन्तरगत नगरग्राम नमूना माध्यामिक विद्यालयले आफ्ना १८ जना अभिभावकहरुलाई कम्प्युटर सम्बन्धी आधारभूत सीप सिकाइरहेको छ । सिक्ने सबै महिलाहरु नै छन् । आमा समूह गठन गरेर आमाहरुलाई डिजिटल ज्ञान दिने योजना अन्तरगत आमाहरुलाई तीन महिने कम्प्युटर शिक्षा प्रदान गर्न थालेको हो । आमाले सिकेपछि घरमै छोराछोरीलाई सिकाउन सक्छन् भनेर पनि आमा समूहमा जोड दिएको कम्प्युटर शिक्षक अच्युत आचार्य बताउनुहुन्छ ।

कम्प्युटर चलाउँदै नचलाएका अभिभावकहरुलाई दुई समूहमा विभाजन गरेर सिकाउने गरिएको छ । कम्प्युटरबाट आफुलाई चाहिएको सूचना कसरी लिने, त्यसमा कसरी लेख्ने अनि कसरी सिक्ने भनेर सिकाउने तथा व्यवहारिक ज्ञान दिने गरी पाठ्यक्रम तयार भएकोले सजिलै अभिभावकहरुले सिक्न सक्ने शिक्षक आचार्य बताउनुहुन्छ । दिउँसो ११ बजेदेखि २ बजेसम्म अभिभावकले कम्प्युटर सिक्नुहुन्छ ।

शिक्षक आचार्यका अनुसार स्वास्थ्य सम्बन्धी शिक्षा, कृषि सम्वन्धी शिक्षा र अन्य प्याकेजहरु पनि छन् । कृषिमा तरकारी खेती कसरी गर्ने के कहाँ हुन्छ, कसरी उब्जाउने, फलफुल खेती, तिनमा लाग्ने रोग, उपचार विधि जस्ता विषय क्रमशः सिकाउने गरिएको छ । कम्प्युटर सिकिसकेपछि घर व्यवहारमा पनि प्रयोग गर्न सकून् र आवश्यक सूचना सजिलै आफैं मोबाइलमै खोज्न सकून् भनेर यस्तो कोर्स समावेश गरिएको हो ।

बुढिगंगा ७ बाँसबारीका बन्दना झा पनि अहिले नरग्राममा कम्प्युटर चलाउन सिकिरहनुभएको छ । उहाँको छोरा आतिष झा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । छोरासँगै विद्यालय जानुहुन्छ अनि कम्प्युटरमा नयाँ नयाँ कुरा खोजेर सिक्नुहुन्छ । ‘मैले बीबीएससम्मको पढाई सकेको छु तर कम्प्युटर सामान्य मात्र चलाउँथे,’ झाले भन्नुभयो, ‘विद्यालयले हामी अभिभावकलाई पनि सिकाउने भएपछि म पनि भोलि अरुलाई यसकै प्याकेज सिकाउनसक्ने गरिसिक्न भनेर आएको हुँ ।’

प्रदेश सरकारले साक्षरता दिवशको अवसर पारेर डिजिटल साक्षरता अभियान सुरु गरेपछि नरग्राम नमूना मावि, सुन्दरहरैंचा नगरपालिकाको सुकुना मावि र दमकको हिमालय मावि मा आइतबारबाटै अभिभावकलाई पनि कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ । यो वर्ष प्रदेशका १४ वटै जिल्लाका सय विद्यालयमार्फत यो अभियान अघि बढाउने सरकारको योजना छ । दश वर्ष भित्रमा प्रदेशका सबै पाँच हजार विद्यालयबाट डिजिटल शिक्षा दिइनेछ ।

अभियान आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्नुहुन्छ ‘हामी विद्यार्थीलाई सूचना प्रविधिको बारेमा सिकाउँछौं, आमा समूह बनाएर अभिभावकको रुपमा उहाँहरुलाई विद्यालयमा ल्याएर सिकाउँछौं, राम्रो गर्नेहरुसँग मितेरी सम्वन्धको विकास गर्छौं र पूर्व विद्यार्थी समूह बनाएर विद्यालयको पूर्वाधारमा समेत योगदान गराउँछौं । दश वर्षमा पुस्तक र झोला विस्थापित गरेर नयाँ प्रविधिबाट शिक्षा लिने अवस्थामा प्रदेशलाई पु¥याउँछौं ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter