दक्षिण एशियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइन; पेट्रोलियम पदार्थको मूल्य घट्यो

वीरगञ्ज, भदौ २४ गते । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपाली जनताको २४ वर्षपछि सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्तरूपमा स्वीच थिचेर उक्त पाइपलाइनको आज उद्घाटन गर्नुभएको हो । दुवै देशका प्रधानमन्त्रीहरुले आ–आफ्नो ठाउँबाट भिडियो कन्फरेन्समार्फत सो पाइपलाइनको उदघाट्न गर्नुभएको थियो ।

भारतीय आयल कर्पोरेशनले (आईओसी) का पदाधिकारीहरुले नेपाल आयल निगम (एनओसी) लाई डिजेल हस्तान्तरण गरेपछि यो परियोजना सञ्चालनमा आएको हो । आज पहिलो खेपमा भारत बिहारको मोतिहारीबाट बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पहिलो पटक सात हजार किलो लिटर डिजेल आइपुगेको छ ।

नेपाल आयल निगमको अमलेखगञ्जमा आयोजित एक कार्यक्रममा भारतीय आयल निगम कार्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका निर्देशक अभिजित चौधरीले नेपाल भारतको ‘लाइफ लाइन’को रूपमा रहेको यो परियोजनाले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना वातावरणीय र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यस परियोजनाले दुवै देशको आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेपालको विकासमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । सहायक निर्देशक सुशील भट्टराईले भारत सरकारले उपहारको रूपमा नेपाललाई दिएको यो परियोजनाका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताउनुभयो ।

कार्यक्रममा भारतीय आयल कर्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका सहायक निर्देशक जेपी सिन्हाले आजको दिन नेपाल भारत दुवै देशका लागि महत्वपूर्ण भएकाले यस परियोजनाले नेपाल भारत बीचको सम्बन्धलाई सेतुको रूपमा जोड्ने बताउनुभयो । तोकिएको समयभन्दा चार महिना अगावै निमार्ण काम सम्पन्न भई परियोजना सञ्चालनमा आएपछि नेपालको लागि मात्र नभएर दक्षिण एशिया कै लागि महत्वपूर्ण भएको उद्योगी व्यवसायीहरुको भनाइ छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको । परियोजनामा भारत सरकारको भारतीय रु चार अर्ब ४० करोड आर्थिक सहयोग रहेको छ । कूल लम्बाइ ७० किलो मिटर रहेको सो पाइपलाइनको लम्बाइ भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापत अब वार्षिक रु दुई अर्ब बचत हुने विश्वास लिइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । एक सय नौ रुपैयाँ प्रति लिटरमा पाइने प्रेट्रोल, ९७ रूपैयाँ प्रति लिटरमा पाइने गरेको डिजेल र मट्टितेलमा दुई रूपैयाँको दरको मुल्य घटेको निगमले जनाएको छ ।

मंगलबारबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ आउने भएपछि मुल्य घटाइएको निगमका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पैडेलले बताए ।

मुल्य घटेसँगै काठमाडौंको नयाँ खुद्रा मुल्य पेट्रोल प्रति लिटर एक सय सात रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ९५ रूपैयाँ कायम भएको छ ।

घटेको पेट्रोलको मूल्य मंगलबार १२ दिउँसो बजेदेखि नै लागु हुने निगमले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter