काठमाडौँ उपत्यका: कला र सम्पदाले झकिझकाउ बनाइँदै

चाँदनी हमाल / काठमाडौँ, असोज ४ गते । भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाडौँ उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ । काठमाडौँ उपत्यका कलात्मक सहर भनेर यसअघि पनि भन्ने गरिन्थ्यो तर बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन प्रवद्र्धनमार्फत नेपालको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान पु¥याउने सरकारी लक्ष्य छ । सोहीअनुसार व्यापक प्रचारप्रसारमा रहेको भिजिट नेपाल २०२० सफल बनाउन उपत्यकालाई सुन्दर कला नगरी बनाउने नेतृत्व भने काठमाडौँ महानगरपालिकाले पाएको छ ।

सरकारी योजनाअनुसार धेरैभन्दा धेरै विदेशी पर्यटकलाई उपत्यकामा बास बसाउन, मौलिक आकर्षण दिन नेपाली कला संस्कृतिको प्रत्यक्ष उजागर गर्न खोजिएको काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

“हामीले कलात्मक सुन्दर सहर बनाउन कलाकारलाई नै जिम्मा दिएका छौँ,” शाक्यले भन्नुभयो, “उपत्यका सिँगार्नकै लागि दस करोड रुपियाँ बजेट तत्काल विनियोजन भइसकेको छ ।”

महानगरसँगको सम्झौतामा आधारित रहेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन भएको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार पर्यटक आकर्षित गर्नकै लागि उपत्यकाका १० स्थानमा सुन्दर पार्क निर्माणका लागिसमेत सम्झौता भएर काम अघि बढेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कर्माचार्यले गठित निर्देशक समितिले पहिलो चरणमा तीन महिनाभित्र काठमाडौँ महानगरपालिकालाई कलात्मक नगरी बनाउने गृहकार्य सुरु गरेको बताउनुभयो । “अब काठमाडौँका चोकचोकमा नेपाल चिनाउने कलाको सिर्जना गरिनेछ,” उहाँले भन्नुभयो, “ठूलाठूला मूर्ति र चित्रसँगै नेपाल अभिव्यक्त गरिनेछ ।”

परम्परागत धारका ठूला मूर्ति र ठूला चित्र निर्माणका लागि कलाकार छनोट गरी काम गरिने उहाँले बताउनुभयो । जसका लागि प्रतियोगिता नै गराउने वा आवेदन लिने भन्नेबारे छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । निर्देशक समितिमा उहाँसँगै कलाकार धर्मराज शाक्य, सुष्मा राजभण्डारी, सुनिल रञ्जित, तथा सम्पदाविज्ञ एकाराम सिंह रहनुभएको छ ।

टोलीले पहिले फिल्ड भिजिट गरेर त्यसपछि कहाँ कस्ता कलात्मकता ल्याउने भन्ने तय गर्नेछ । निर्देशक समितिका सदस्य तथा सम्पदाविद् एकाराम महर्जनले यतिबेला टोली फिल्ड भिजिट गरिरहेको बताउनुभयो । “भिजिट नेपालका लागि उपत्यका व्युटिफिकेसन गर्ने जिम्मा पाएका छौँ,” उहाँले भन्नुभयो, “जहाँ जुन खालको मौलिकता थियो, त्यहीअनुसार काम अघि बढाउने प्रारम्भिक योजना बनेको छ ।”

उहाँका अनुसार वसन्तपुर दरबार क्षेत्रमा कुमारी घरको पूर्वतर्फ रहेको पुरानो पोखरी यही क्रममा पुनर्जीवित गरिनेछ । काठमाडौँका पानीको स्रोत सकिँदै गएका बेला त्यो पोखरी पुनर्जागृत गराउँदा सहरको सौन्दर्यसँगै प्रकृतिमा विचरण गर्ने चराचुरुङ्गी र अन्य प्राणीका लागि पिउने पानीको स्रोत बन्ने उहाँ बताउनुहुन्छ । त्यहीँनेर काल्पनिक झरनासँगै नारायणमूर्तिको कल्पनासमेत उहाँले गर्नुभएको छ ।

त्यस्तै नेपाल चिनाउने ऐतिहासिक व्यक्तित्वका ठूला मूर्ति ठाउँठाउँमा राखिनेछ । माथवरसिंह थापा, जङ्गबहादुर राणा, जयस्थिति मल्ल लगायतका ऐतिहासिक मूर्ति निर्माण गरिनेछ । हेर्दै जीवन्त लाग्ने त्यस्ता मूर्तिसँग सेल्फी खिच्न मन लाग्नेगरी पर्यटक आकर्षित हुने उहाँ दाबी गर्नुहुन्छ ।

नेपालको मौलिक कला मानिने पौभाचित्र ठूलाठूला आकारमा भित्ताहरूमा कोरिनेछ । जसमा नेपाली जनजीवनसँग जोडिएका कथा बुनिनेछ । लोप भएको बत्तीसपुतली गेट ब्युँझाउने सोच पनि समितिले बनाएको छ । नेपाली वास्तुकलात्मक सिर्जनाका रूपमा भीमसेनस्थानको सुन्धारालाई सौन्दर्यले भरिनेछ ।

उहाँका अनुसार पुराना कलात्मक नगरलाई समेत पुनर्जागृत गर्न प्रयास गरिनेछ । “हाँडीगाउँ र विशालनगर पहिले सुन्दर नगर थियो, कैलाशकुट भवन नष्ट भएपछि त्यो सुन्दरता अहिले छैन,” महर्जनले भन्नुभयो, “त्यहाँको सुन्दरता फर्काउन प्रयास गरिनेछ ।” त्यस्तै पाटनको देवपाटन आफैँमा सुन्दर नगर थियो । त्यसको मौलिकता सबै फर्काउन नसके पनि केही हदसम्मको त्यहाँको प्राचीनता झल्काइनेछ ।

पहिलो चरणमा ठूला मूर्ति, चित्र र पुराना संरचनालाई मौलिकता भर्ने काम गरिनेछ । दोस्रो चरणमा सिङ्गै उपत्यकालाई कलात्मक नगर बनाउन थप पूर्वाधारसहितका नयाँ संरचनासमेत निर्माण गरी अगाडि बढ्ने योजना रहेको उहाँले बताउनुभयो ।

सहरी विकास आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार काठमाडौँलाई स्मार्ट सिटीसँगै कलात्मक नगरीमा रूपान्तरण गर्ने अभियान नै सुरु भएको जानकारी दिनुभयो । आधुनिकतासँगै यहाँको मौलिक कला लोप हुन नदिन यसरी सहकार्य गरेर अगाडि बढेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter