विकास आयोजनामा स्थानीयको सकारात्मक भूमिका हुनुपर्छ : उर्जामन्त्री पुन

काठमाडौँ, असोज ५ गते । उर्जामन्त्री वर्षमान पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।
पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउँदा लगानी मैत्री वातावरण बिग्रिएको भन्दै उनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताए ।
काठमाडौंमा आइतबार आयोजित जलविद्युत सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले कुनै नयाँ आयोजना गाउँमा आउना साथ अनेक बहाना बनाएर दुःख दिँदा लगानीकर्ता भाग्ने स्थिति आउन दिन नहुने उनले बताए ।
पैसा निकाल्नु पर्छ, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुःख दिँदा लगानीकर्ता निराश भएर भाग्ने आवस्था आउने भन्दै उनले त्यसमा स्थानीय सजग हुनुपर्ने उल्लेख गरे ।
स्थानीय जनताले व्यवहारिक रुपमा विकास मैत्री र लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।
पुनले निर्माणकर्ता र लगानीकर्तालाई स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे । आयोजनाहरुको सार्वजनिक सुनुवाई नाम मात्रको हुने, प्रभावित जनतासँग नगर्ने, वातावरणीय प्रभाव मुल्यांकन हचुवाको भरमा गर्ने, स्थलगत अध्ययन र स्थानीयको सहभागिता नराखी गरिने भन्दै उनले सरकारले तोकेको काम सहि ढंगले गर्न आग्रह गरे । यसो गर्दा स्थानीयमा अपनत्व बढाउने भएकोले स्थानीयलाई साथमा लिनुको विकल्प नरहेको उनले बताए ।
कार्यक्रममा मन्त्री पुनले मोदी खोला जलविद्युत आयोजनाहरुले परेको वतावरणीय प्रभाव मुल्यांकन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका थिए । सरकारले विद्युत ऐन सम्बन्धि मस्यौदा तयार गरि सार्वजनिक प्रतिक्रिया र छलफलको लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरि सुझाव दिन आग्रह गरे । उनले विद्युत ऐनको मस्यौदामा सबै तहका सरकारले उत्पादन विकास र वितरणसमेत गर्न सक्ने गरि अधिकार बाँडफाँड गरेको बताए ।