वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, असोज ७ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।” सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधान का लागि छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

“यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखाँै, म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार पछिल्लो समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताउनुभयो । वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु”, उहाँले भन्नुभयो, “व्यवसायीको समस्या सुन्न चाहन्छु एक्लाएक्लै भए पनि समूहगत भए पनि म व्यवसायीको समस्या सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो ।”

व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गर्नुभयो । “व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्नै पर्छ । रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो ।

वैदेशिक रोजगार विभागका महानिर्देक डा भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गर्नुभयो । सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताउनुभयो । राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको गुनासो उहाँको थियो ।

सङ्घको नयाँ नेतृत्व चयन गर्न आजै निर्वाचन

नेपाल वैदेशिक रोजगार व्यवासयी सङ्घको नयाँ नेतृत्व चयनका लागि आजै निर्वाचन हुँदैछ ।

निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

नेकपा र सङ्घीय समाजवादी पार्टीलगायत प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्धितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू ९तेजु० ले उम्मेदवारी दिएका छन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवको उम्मेदवारी परेको सङ्घले जनाएको छ ।

यसैगरी काङ्ग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ । त्यसैगरी सोही समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्धितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter