असम्बद्ध निकायबाट फैसलाको परीक्षण गरिनु न्यायपालिकाको मर्यादा विपरित

नारायण काफ्ले / काठमाडौँ, असोज १० गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सम्पादनको रोहमा भएका फैसला र आदेशहरूको असम्बद्ध व्यक्ति र निकायबाट परीक्षण गर्ने कार्य स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत भएको बताउनुभएको छ ।

फैसला र आदेशको विधिपूर्वक परीक्षण हुन सक्ने भए पनि असम्बद्ध प्रक्रियाबाट गरिने परीक्षण स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत समेत रहेको प्रधानन्यायाधीश जबराको भनाइ छ ।

पछिल्लो समय दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकरबारेको पूर्ण इजलासको फैसला अध्ययनको माग उठिरहेको छ । नेपाल बार एशोसिएसनले अध्ययनका लागि पाँच सदस्यीय समिति नै गठन गरिसकेको छ ।

दशैँ, तिहार छठलगायतका पर्वको पूर्वसन्ध्यामा सर्वोच्च परिसरमा आयोजित चियापानमा जबराले स्वतन्त्रता र स्वायत्तता संविधान र कानुनमा उल्लेख गर्दैमा स्वतः कायम हुने नभई सबैको सम्मान र व्यवहारबाट मात्रै प्राप्त हुने बताउनुभयो ।

प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘‘स्वतन्त्रता र स्वायत्तता संविधान र कानूनमा उल्लेख गर्दैमा स्वतः कायम हुने विषय नभई सम्बन्धित सबैको त्यसप्रतिको सम्मान र सोअनुरूपको व्यवहारबाट मात्रै आकार प्राप्त गर्न सक्दछ ।’’

‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरूको विधिपूर्वक परीक्षण हुन सक्दछ तर असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य आफैँमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरीत हुन जान्छ ।’

प्रधानन्यायाधीश जबराले संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट मात्रै संविधानवाद्, लोकतन्त्र, विधिको शासन तथा मानव अधिकारको प्रत्याभुति हुने पनि बताउनुभयो । न्यायपालिकाको विश्वसनीयतामा उठ्ने प्रश्नले संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग नपुग्ने पनि जबराको भनाइ छ । संविधान तथा कानुनले अपेक्षा गरे अनुसार जिम्मेवारी निर्वाह गर्न न्यायपालिका क्रियाशील रहेको पनि उहाँको भनाइ छ ।

पछिल्लो समय दूरसञ्चार सेवा प्रदायक एनसेलको फैसलाको विषयमा छानबिनको माग संसद्मा उठिरहेको छ । संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा उक्त फैसला अध्ययन हुनुपर्ने माग भएको थियो । समितिले फैसला अध्ययनअघि विज्ञसँग परामर्श गर्ने सहमति पनि गरेको थियो । तर, विज्ञसँग परामर्श भने भएको छैन ।

यस्तै, सोही प्रकरणमा नेपाल बार एशोसिएसनले पाँच सदस्यीय अध्ययन समितिसमेत गठन गरिसकेको छ । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा समिति गठन भएको थियो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक नगरेका कारण समितिले अध्ययन प्रक्रिया सुरु गरेको छैन । पूर्णपाठ सार्वजनिक भएपछि अध्ययनको तयारीमा समिति छ ।

भदौ २ गते सर्वोच्चको पूर्ण इजलासले एनसेलको लाभकर निर्धारण प्रक्रिया बदर गरेको थियो । उक्त फैसलाको सार्वजनिकरूपमा आलोचन हुँदै आएको छ । फैसला अध्ययनका लागि बारले समिति गठन गरिसकेको र संसद्मा समेत अध्ययनको माग भइरहेका बेला प्रधानन्यायाधीशले अन्य निकायले गर्ने फैसला अध्ययन स्वतन्त्र न्यायपालिकाको मर्मविपरीत रहेको टिप्पणी गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter