चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल – प्रवक्ता बाँस्कोटा

काठमाडौँ, असोज ३० गते । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा मात्रै नभई नेपालको आर्थिक समृद्धिको मार्गचित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीन रुपमा समेत पर्नेछ ।”

मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको बहुआयामिक महत्व रहेको र दुई देशबीच भएको २० बुँदे समझदारीपत्र त्यसैको उदाहरण भएको बताउनुभयो ।

भ्रमणको बहुआयामिक महत्वका बारेमा थप स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विकास लक्षितरुपमा, राजनीतिक रुपमा र कूटनीतिक सम्बन्धका रुपमा हेर्नुपर्छ । यसले राजनीतिक रुपमा विशिष्ट प्रकारको सम्बन्ध स्थापित गरेको छ ।”

विश्वशक्तिसमेत रहेको छिमेकी मुलुकसँग राम्रो सम्बन्ध हुनु नै खुशीको कुरा भएको स्पष्ट पार्दै उहाँले २३ वर्षपछि नेपालमा त्यस खालको उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा भएको बताउनुभयो । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि विश्वव्यापीरुपमा नै स्थापित हुन पुगेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत त्यसलाई चर्चा गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

दुई देशका बीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ र उन्नत बनेको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना पूरा हुने दिशामा केन्द्रित रहेको बताउनुभयो । प्रवक्ता बाँस्कोटाले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई साकार बनाउन पनि भ्रमण ऐतिहासिक भएको स्पष्ट पार्नुभयो । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपाल र नेपाली जनताका लागिसमेत महत्वपूर्ण लाभ र उपलब्धि प्राप्त हुने उहाँको भनाइ थियो ।

नेपाल भूपरिवेष्टित नभई भूजडित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले जोड दिँदै आउनुभएको सन्दर्भ जोड्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीबाट पनि सोही खालको प्रतिबद्धता व्यक्त भएकामा त्यो विषयसमेत ऐतिहासिक भएको बताउनुभयो । नेपाल र चीनबीच भएको सहमति तथा समझदारीले नेपाललाई समुन्द्रसम्मको पहुँच, हवाई मार्ग र यातायातमा सम्भावनाको ढोका खोलेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी रेल्वे, हवाई, सडक, विद्युत्, सञ्चार सम्पूर्ण क्षेत्रमा अगाडि बढेका छौँ । फाइदाको हिसाबले हामी यसलाई मूल्यमा नाप्नै सक्दैनौँ ।”

उहाँले चिनियाँ राष्ट्रपतिको भ्रमण विकास र समृद्धिको लागि गरिएको रणनीतिक समझदारी भएको उल्लेख गर्नुभयो । “चीन र नेपालको केही विषयमा समान चासो छन् । नेपालको पनि आर्थिक समृद्धि र विकासको चासो रहेको छ । हामी त्यसैमा केन्द्रित रहेका छाँै”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले दुई देशबीच भएको रणनीतिक साझेदारीको अर्थ अन्य कुनै गठबन्धन नभएको स्पष्ट पार्नुभयो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा नलाग्ने र असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई फरक कोणबाट व्याख्या गर्नुको कुनै अर्थ नभएको उहाँको प्रष्टोक्ति थियो ।

मन्त्री बाँस्कोटाले संसारका जुनसुकै देशका उच्चस्तरीय राजनेताको भ्रमणलाई नेपालले स्वागत गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा नै उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तर अगाडि बढाउने भन्ने विषय समावेश भएकाले पनि चिनियाँ राष्ट्रपतिको जस्तै थप भ्रमण हुनसक्ने र सरकारले ‘सगरमाथा संवाद’ जस्ता कार्यक्रम पनि अगाडि बढाउन लागेको सन्दर्भमा यस्ता भ्रमण निरन्तर हुने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter