मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना; उम्मेदवार मनोनयनपत्र दर्ता आज

काठमाडौँ, कात्तिक २१ गते । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ ।

बनेपा– धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

वडाध्यक्ष राजन कोइरालाको २०७४ भदौ ९ गते निधन भएपछि सो वडामा हुने उपनिर्वाचनमा एक हजार ८७७ मतदाता सहभागी हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो ।

निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार कात्तिक २७ गते उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने, २८ गते उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १ गते उम्मेदारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

सप्तरी– उपनिर्वाचनका लागि सप्तरीको छिन्नमस्तामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार ४०३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं सप्तरी जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताउनुभयो ।

राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको हो । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अच्छेलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडाध्यक्षको गत निर्वाचनमा प्रभाकर यादवसँग झिनो मतले अच्छेलाल पराजित हुनुभएको थियो । त्यतिबेला अच्छेलाल स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको थियो ।

राजपा र समाजवादी पार्टीले संयुक्त उम्मेदवार दिने सहमति गरे पनि उम्मेदवार घोषणा गरिसकेका छैनन् । नेपाली काङ्ग्रेसले उम्मेदवारबारे छलफल चलिरहेको तर निर्णय नभएको जनाएको छ ।

गुल्मी– जिल्लाको रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुन गइरहेको उपनिर्वाचनका लागि बुधवार रुरुक्षेत्र गाउँपालिकाको मुकाम बलेटक्सारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित पूर्णबहादुर रेगामीको २०७५ साउन १३ गते असामयिक निधन भएपछि सो पद रिक्त रहेको थियो । उक्त पदका लागि हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गिरीप्रसाद सिंजाली र नेपाली काङ्ग्रेसको तर्फबाट बेदबहादुर दर्लामीलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुने उपनिर्वाचनमा दुई हजार २४८ मतदाता सहभागी हुनेछन् ।

खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ का वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनका लागि मात्तिम मानेभञ्ज्याङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनमा खिदिमाका एक हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताउनुभयो ।

वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्व मणिकुमारकी श्रीमती शिवकला राई, नेपाली काङ्ग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सो नगरपालिकाको वडा नं. ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले बताउनुभयो ।

उहाँका अनुसार, मनोनयपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन कात्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनयपत्र र उजुरीउपर जाँचबुझ कात्तिक २९ गते, मनोनय भएका उम्मेदवारको नामावली प्रकाशन कात्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कात्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान मङ्सिर १ गते र मतदान मङ्सिर १४ गते हुने कार्यक्रम रहेको छ ।

गलकोट– बडिगाड गाउँपालिका–२ मा हुने उपनिर्वाचनलाई लक्षित गरी बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार ध्रुवबहादुर ढकाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले निर्वाचनमा आचारसंहितालाई पूर्णरूपमा पालना गराउन सरोकारवालाहरुले नै अनुगमन तथा नियमन गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सुरक्षा व्यवस्था चुस्त पारिएकाले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रहसमेत गर्नुभएको थियो । बडिगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समिति बागलुङको उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको पदमा निर्वाचन हुनलागेको हो । २ नं वडाको निर्वाचन त्रिभुवन नमूना माध्यामिक विद्यालयको दुई मतदान केन्द्रमा हुनेछ । सो वडामा एक हजार ७४२ मतदाता छन् । निर्वाचन कार्यक्रमअनुसार वडाध्यक्षका लागि कात्तिक २७ गते मनोनयन दर्ता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागलुङमा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा समेत उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भएका कारण उपनिर्वाचन हुनलागेको हो । दुवै स्थानमा राजनीतिक दलहरुले आ–आफ्ना उमेदरवार उठाएर चुनवामा होमिएका छन् ।

उम्मेदवार मनोनयनपत्र दर्ता आज

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

आयोगका अनुसार, आजै दिउँसो १ः३० देखि ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने भोलि शुक्रबार बिहान ११ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ः०० देखि दिउँसो १ः३० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ गर्ने, सोही दिन दिउँसो ३ः००देखि ५ः०० बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि अपराह्न ५ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ः०० अपराह्न ४ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

पोखरा– कास्की निर्वाचन क्षेत्र नं २ मा मङसिर १४ गते हुनलागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयन गरिने भएको छ । घोषित निर्वाचन कार्यतालीका अनुसार आज बिहान १०.०० बजेबाट दिउँसो १.०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

मनोनयन दर्ताका लागि उम्मेदवारले एक÷एक जना प्रस्तावक र समर्थकसहित रु १० हजार दर्ता शुल्क बुझाउनुपर्ने छ । प्रस्तावक र समर्थक बन्ने व्यक्ति सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा अनिवार्य समावेश भएको हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।

राजनीतिक दलले जुलुससहित निर्वाचन कार्यालयमा पुगी उम्मेदवार मनोनयन गर्ने तयारी गरेका छन् । उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई बिहान ११.०० बजे उपस्थितिका लागि आमन्त्रण गरेको छ भने नेपाली काङ्ग्रेसले पोखरा सभागृहमा १०.३० बजे आमन्त्रण गरेको छ ।

अन्य राजनीतिक दलले पनि उम्मेदवारी मनोनयन गर्न जान पार्टीका नेता तथा कार्यकतालाई बोलाएका छन् । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो । नेकपाले स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पोखरा महानगरपालिकाअन्तर्गत ११ वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उम्मेदवार मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter