स्थानीय तहको उप निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न

कत्तिक २७ गते । मङ्सीर १४ मा हुन लागेको उपनिर्वाचनको स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार सम्पनन भएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका अनुसार बुधबार स्थानीय निकायमा रित्त रहेका विभिन्न पदमा मनोनयन दर्ता भएको हो ।

उपनिर्वाचन अन्तरगत चारवटा स्थानीय तहको प्रमुख, एउटा स्थानीय तहको उपप्रमुख तथा ४२ वटा बडामा अध्यक्षको लागि निर्वाचनका लागि मनोनयन दर्ता भएको हो ।

बुधवार पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, शंखुवासभाको मकालु गाँउपालिकाको अध्यक्ष, महोत्तरीको पिपरा गाँउपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाँउपालिकाको उपाध्यक्ष पदमा निर्वाचनको लागि उम्मेदबारी दर्ता भएको छ । त्यस्तै विभिन्न जिल्लाका ४२ वटा वडा अध्यक्षको पदमा उम्मेदवारी दर्ता भएको छ ।

सङ्खुवासभा सात दलको उम्मेदवारी

आसन्न उपनिर्वाचनको लागि जिल्लाको मकालु गाउँपालिका अध्यक्षमा सात दलले मनोनयन दर्ता गरेका छन् । खाँदबारी नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षको लागि भने दुई दलले मात्र मनोनयन दर्ता गराएका छन् ।

गाउँपालिका अध्यक्षको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक मञ्चले मनोनयन दर्ता गराएका हुन् । ठुला दलहरू नेकपाको तर्फबाट तेजबहादुर पोखरेल र नेपाली कांग्रेसबाट बिमन पराजुलीको उम्मेद्वारी दर्ता गरिएको छ ।

त्यस्तै अन्य दलतर्फ संघीय समाजवादी फोरमको तर्फबाट नुर्वु शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट मानबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रमेश राईको उम्मेद्वारी दर्ता गराईएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई र संघीय लोकतान्त्रिक मञ्चको तर्फबाट कविता राईले उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्षको लागि नेकपा र नेपाली कांग्रेसले मात्र उम्मेदवारी दर्ता गराएका छन् । नेकपाको तर्फबाट भरतकुमार घिमिरे र नेपाली कांग्रेसको तर्फबाट बिक्रम गुरुङको उम्मेद्वारी दर्ता गराईएको छ ।

२०७४ पुष ३० गते गाउँकै सामाटार भन्ने स्थानमा सवारी दुर्घटनामा परेर तत्कालिन अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि अध्यक्षको पद रिक्त भएको थियो । त्यस्तै खाँदबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष तायोनाथ ढुंगानाको पनि एक बर्षअघि हृदयघातको कारण मृत्यु भएको थियो । यसरी रिक्त रहेको पदहरुमा उपनिर्वाचन हुन लागेको हो ।

गाउँपालिका अध्यक्षको निर्वाचनका लागि मकालु गाउँपालिकामा १३ वटा मतदान केन्द्र तोकिएको छ भने वडा अध्यक्षको निर्वाचन हुन लागेको खाँदबारी ३ मा २ वटा केन्द्र तोकिएको छ । मकालुमा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी ३ मा १ हजार ८ सय २२ जना रहेका छन् ।

हुम्लामा तीनको उम्मेदवारी

हुम्लाको खार्पुनाख गाँउपालिकाको उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेकपावाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीले उम्मेदवारी दिनु भएको हो । सो गाँउपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्षको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

काभ्रेमा चार जनाको उम्मेदवारी

काभ्रेको धुलिखेल–२ मा वडाअध्यक्षको लागि हुन लागेको उपनिर्वाचनमा उपनिर्वाचनका चार जनाले मनोनयन पत्र दर्ता गराउनु भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले दिनु भएको जानकारी अनुसार नेकपाबाट देवप्रसाद कोइराला, नेपाली कांग्रेसबाट दर्न बहादुर खत्री, राजपा नेपालबाट कृष्ण बहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सप्तरीमा आठ जनाको उम्मेदवारी

सप्तरीको छिन्नमस्ता गाउँपालिका वार्ड नं. ७ अध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित आठ जनाले बुधबार उम्मेदवारी दर्ता गराएको छ । नेकपाबाट अच्छेलाल यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमिलादेवी यादव, नेपाली काँग्रेसका शिवनारायण मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डल, जनमत पार्टीका दिनेशकुमार यादव, नेपाल लोकतान्त्रिक पार्टीका सकलदेव साहले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिनुभयो । यस्तै नुर हुसेन मन्सुरी र धीरेन्द्रकुमार यादवले स्वतन्त्र उम्मेदवार भई नाम दर्ता गराएको उहाँले जानकारी दिनुभयो ।

बैतडीमा महिला र दलितको उम्मेद्वारी शून्य

बैतडीमा हुन गाइरहेको उप निर्वाचनका लागि दलहरुका प्रतिनिधिले मनोनयन दर्ता गरेका छन् । मनोनय दार्ता भएका उम्मेदेवार मध्ये महिला र दलितको उम्मेद्वारी भने शून्य रहेको छ ।

बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर १, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ र पुरचौडी नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदका लागि मंसिर १४ गते उप निर्वाचन हुँदैछ ।

उप निर्वाचनमा भाग लिन निर्वाचन आयोगको तालिका अनुसार बुधवार विहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको थियो ।

मनोनय दर्ताको समय तालिका अनुसार दोगडा केदार गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टी, नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काँग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट, र देवसिंह खत्री ( स्वतन्त्र) ले मनोनयन दर्ता गर्नु भएको छ ।

सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट गजेन्द्रबहादुर चन्द, नेपाल कम्युनिस्ट पार्टीबाट धनबहादुर चन्दले मनोनयन दर्ता गराउनु भएको छ ।

पुरचौडी नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टी, नेकपाबाट शैलेन्द्र धानुक, नेपाली काँग्रेसबाट गोविन्दबहादुर धामी, र चन्द्रबहादुर बोहराले स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख राजेन्द्र फँुयालले बताउनुभयो ।

वडा अध्यक्ष पदको निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली काँग्रेसले सबै ठाउँमा महिला र दलितलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने आँट देखाउन सकेनन् ।

महिला र दलितहरु चुनाव जित्न सक्दैनन् भन्ने मानसिकताका कारण राजनीतिक दलले महिला र दलितलाई वडा अध्यक्षको उम्मेद्वार नबनाएको अधिकारकर्मी र सामाजिक अभियन्ताहरुले टिप्पणी गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नै यो संविधान समावेशी, समानुपाति र समाजवाद उन्मुख हुने छ भन्ने कुरा उल्लेख भए पनि राजनीतिक दलहरुले त्यो भावना अनुसारको अभ्यास गर्न नसकेको नागरिक अगुवा एवं वुद्धिजीवी डाक्टर केदारचन्द्र भट्टले टिप्पणी गर्नुभएको छ ।

उप निर्वाचनकामा दलित र महिलाहरुको उम्मेद्वारी शून्य हुनुमा राजनीतिक दलरुले लोकप्रियता देखाउन जसरी पनि चुनाव जित्ने होडबाजीका कारण उप निर्वाचनमा दलित र महिलाको उम्मेदेवारी शून्य रहेको डाक्टर भट्टले बताउनुभयो ।

ग्रामीण विकास विषयमा विद्यावारिघि गर्नुभएका डाक्टर भट्टले भन्नुभयो, सत्तामा भएको पार्टीले लोपप्रियता देखाउन चुनाव जित्ने पर्ने बाध्यता छ भने प्रतिपक्षमा रहेका दलहरुले सत्ताधारी पार्टीको लोकप्रियता सिध्याउन जसरी पनि चुनाव जित्नु पर्ने भएकोले समावेसी र मानुपातिकका कुरा बिर्सेका छन््

बाराको बारागढी गाउँपालिकाको १ नम्बर वडामा ९ जनाद्वारा उम्मेदवारी दर्ता

बाराको बारागढी गाउँपालिका वडा नम्बर–१ मा रिक्त रहेको वडाअध्यक्ष पदको उपनिर्वाचनमा बुधवार नौजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा नेकपाको तर्फबाट शङ्करप्रसाद चौधरी, नेपाली काँग्रेसको तर्फबाट तस्वीरिया थरुनी, समाजवादी पार्टीको तर्फबाट सुरेशप्रसाद चौधरी, राजपाबाट बैजनाथ चौधरी, नेपाली जनता पार्टीबाट वीरेन्द्रप्रसाद राय थारु, स्वतन्त्रबाट नरेश तत्वा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामपति देवीलगायतका रहेका छन् ।

बारागढी गाउँपालिका वडा नम्बर–१ मा मतदाता संख्या २ हजार ३ सय ६६ रहेको निर्वाचन अधिकारी मनिष साहले जानकारी दिनुभयो । कात्तिक २८ गते दावी विरोध, २९ गते छानविन, ३० गते मनोनयन फिर्ता लिने र १ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकारी एवं बारा जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि ५ जनाले गराए मनोनयन पत्र दर्ता

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनमा मंसिर १४ गते हुने उपनिर्वाचनको लागि एक जना स्वतन्त्र गरी ५ जनाको मनोनयन दर्ता भएको छ ।

वडाध्यक्ष पदको लागि हुने निर्वाचनको लागि एक जना स्वतन्त्र गरी ५ जनाको मनोनयन पत्र दर्ता भएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले वताउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter