सन्दर्भ राष्ट्रिय कफी दिवस : गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र

हुमाकान्त पोखरेल / तम्घास, कात्तिक ३० गते । गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र ।

हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उहाँले घर खर्च चलाउने रकम प्राप्त गर्नुहुन्छ । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उहाँको दैनिक काम हो । सोही काम गरेबापत उहाँले आफ्नो दैनिकि चलाउदैँ आउनुभएको छ । उहाँका श्रीमान् रोजगारीकै लागि भारतमा हुनुहुन्छ । शुरुमा अलिकति रकम चाहिए पनि श्रीमान्कै आस गर्ने उहाँ केन्द्रमा काम गर्न शुरु गरेदेखि घर खर्च रकम रकम आफैँ जुटाउनुहुन्छ ।

सोही स्थानकी मिठु क्षेत्रीले पनि कफी अनुसन्धान केन्द्रमा कफीका बोटबिरुवामा पानी राख्ने, जङ्गलको झार तथा घाँस काट्ने र सफा बनाउने, नर्सरी व्यवस्थापन, मल बीउको व्यवस्थापन, सिँचाइजस्ता काम गर्न थालेको तीन वर्ष भयो । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छन् । तर, आफूसहित छोरी र दुई छोराको आर्थिक खर्च उहाँ आफैँले व्यवस्थापन गर्नुभएको छ । “दैनिक रु ५१७ का दरले मासिक रु १५ हजार ५०० हुन्छ, तर सबै दिन आउन पाइँदैन”, उहाँले भन्नुभयो, “कफी अनुसन्धान केन्द्रले गाउँमै रोजगार दिँदा खुशी लागेको छ ।” सामान्य रकमको आवश्यकता पर्दा कसैसँग हात जोड्नु नपर्ने, आफ्नै छोराछोरीसँग बसेर काम गर्न पाइने, महिला समूहहरुमा बचत गर्दा पैसाको समस्या नपर्नेजस्ता कार्यमा सहयोग पुग्ने हुँदा उहाँले केन्द्रमै काम गरिरनुभएको छ । त्यसका साथै उहाँले आफँैले कमाएको पैसा र श्रीमान्ले कमाएर दिएको पैसामा समेत फरक पर्ने बताउनुभयो ।

कफी अनुसन्धान केन्द्रमा फूलखेती

कफी अनुसन्धान केन्द्रमा फूलखेती पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, बलेटक्सारमा रहेको कफी केन्द्रमा बनाइएको बगैँचामा फूलखेतीसमेत हुने गर्दछ । फूलखेतीकै लागि एक महिला कामदार केन्द्रले नियुक्त गरेको छ । बगैँचामा अहिले सयपत्री, थुङ्गेलगायतका झण्डै आधा दर्जन प्रकारका फूल छन् । “यसपालिको तिहारमा मात्रै रु १४ हजारको फूल बिक्री भयो, बाँकी बीउका लागि राखिएको छ ।” विगत पाँच वर्षदेखि केन्द्रको बगैँचामा काम गर्दै आउनुभएकी ४० वर्षीया कमला गौतमले भन्नुभयो, “गाउँमै फूल स्याहार्ने काम पाउँदा खुशी लागेको छ ।” रोजगारीकै लागि श्रीमान् विदेश रहे पनि घर खर्च आफूले चलाउने र श्रीमान्ले कमाएको पैसा बचत हुने उहाँले बताउनुभयो । केन्द्रमै मजदुरी गर्दै आउनुभएकी सरिता गौतमले पनि बलेटक्सारमा अनुसन्धान केन्द्र स्थापना भएपश्चात धेरै महिलालाई जीविकोपार्जनको माध्यम भएको प्रतिक्रिया दिनुभयो ।

महिला–पुरुषलाई समान ज्याला

हाम्रो समाजमा अझै पनि महिला र पुरुषलाई कामको ज्यालामा विभेद गर्ने गरिन्छ । तर, बलेटक्सारको कफी अनुसन्धान केन्द्रमा काम गर्ने श्रमिकको पारिश्रमिक समान कायम गरिएको छ । समान प्रकृतिको काम गर्ने श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला रु ५१७ प्रदान गरिन्छ । जसले गर्दा महिलालाई पनि हौसला मिलेको छ । “गाउँमा पुरुषको तुलनामा हामीलाई कम ज्याला दिने गर्दछन्, तर यस केन्द्रमा समान ज्याला छ”, केन्द्रमै काम गर्न आएकी रुरु गाउँपालिका–३ ओखलढुङ्गाकी कमला ज्ञवालीले भन्नुभयो, “केन्द्र स्थापना भएपछि सामाजिक र आर्थिक पक्षमा धेरै सहज भएको छ ।”, उहाँले पनि नर्सरी सफा गर्ने, गोडमेल गर्ने, कफी टिप्नेलगायतका काम कफी अनुसन्धान केन्द्रमा गर्दै आउनुभएको छ ।

४० जनासम्म कामदारले वार्षिक २७ लाख बुझ्छन्

कफीको उद्गमस्थल गुल्मीमा कफीको अनुसन्धान गर्ने उद्देश्यले विसं २०७१ मा राष्ट्रिय कफी अनुसन्धान केन्द्र स्थापना भयो । केन्द्रले कफीको अनुसन्धान मात्र गरेन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना ग¥यो । कार्यालयमा काम गर्ने सात कर्मचारी छन् । तर, स्थानीय कामदार भने त्यो भन्दा तेब्बर सङ्ख्यामा छन् । केन्द्र स्थापना भएदेखि नै स्थानीय कामदार नियुक्त गरिएको थियो । प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम ५१७ तोकिएको छ । तर, सामान्यबाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ ।

केन्द्रमा अहिले २२ नियमित कामदार छन् । तीमध्ये अधिकांश पाँच वर्षदेखि नै मजदुरीको काम गर्दै आएका छन् भने कतिले दुई वर्षदेखि काम गर्दै आएका छन् । केन्द्रमा बढीमा ४० जनासम्मलाई मौसमी रोजगारी कार्यालयले दिने गरेको कार्यालयका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । शुक्रबार र शनिबार बिदा हुने तथा अन्य दिन पनि कोही कामदार नआउने हुँदा एक जनाको मासिक ज्याला बढीमा रु १२ हजारसम्म हुने गरेको उहाँले बताउनुभयो । त्यसरी कार्यालयमा काम गरेवापत स्थानीय मजदुरले वार्षिक रु २२ देखि २७ लाखसम्म लैजाने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नियुक्त गरिएका कामदारको रकम नेपाल सरकारले नै उपलब्ध गराउने कार्यालय प्रमुख थापाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter