सार्वजनिक शौचालयको योजना बनाउँदै कीर्तिपुर नगरपालिका

काठमाडौँ, फागुन २४ गते । कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ । साथै आगामी वर्षदेखि सार्वजनिक शौचालयको योजना बनाउने तयारीमा जुटेको छ । सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन ल्याइएको सो मार्गदर्शन कार्यान्वयन गर्ने सो नगरपालिका काठमाडाँै उपत्यकाभित्रका नगरपालिकामध्ये नै पहिलो बनेको जनाइएको छ ।

नगरको सरसफाइ र स्वच्छ वातावरणका लागि सार्वजानिक शौचालय महत्वपूर्ण अङ्ग मानिन्छ हो । तर उपत्यकाभित्र रहेका त्यस्ता शौचालय फोहर, अपर्याप्त पानी, कमजोर व्यवस्थापन, महिला, अपाङ्गता तथा तेस्रो लिङ्गी मैत्री अभाव, हात धुने ठाउँ नहुनु, रसाउने र चुहिने समस्या, हात धुने ठाउँको अभाव तथा सबैका दिसा गर्ने सुविधा नहुनु समस्या रहेका छन् । शौचालयमा हुनुपर्ने सेवासुविधा तोकिएको आधिकारिक मापदण्ड रहेको छैन । भएका शौचालयको अनुगमन र मूल्याङ्कन गर्ने कुनै निकाय नभएका कारण पनि शौचालयको अवस्थामा सुधार आउन कठिनाइ भएको बताइन्छ । यस समस्यालाई समाधान गर्न मार्गदर्शन आवश्यक रहेको जनाइएको छ ।

कीर्तिपुर नगरपालिकाले गत वर्ष सार्वजनिक शौचालयका समस्या समाधान गर्न उपप्रमुख सरस्वती खड्काको अध्यक्षतामा एक समिति गठनसमेत गरेको थियो । साथै सो नगरपालिकासहित काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले र गुथी नामक गैरसरकारी संस्थाको सहयोगमा ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन मस्यौदा’ तयार गरिएको थियो ।

ती नगरपालिकामा रहेका सार्वजनिक शौचालयको समस्या समाधान गर्न मस्यौदामा बनेको गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । यसैबीच मस्यौदालाई अन्तिम रुप दिन कीर्तिपुर नगरपालिका र सो संस्थाद्वारा संयुक्त रुपमा शुक्रबार छलफल कार्यक्रम सम्पन्न भयो ।

छलफलका क्रममा मार्गदर्शनलाई कार्यान्वयनमा कसरी लाने भन्ने विषयमा वडाध्यक्षहरुले विभिन्न सुझाव दिनुभएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख रमेश महर्जनले भन्नुभयो, “ मानिसको मनमस्तिष्कमा शौचालय भनेको फोहर हो भन्ने मान्यता छ । हाम्रा लागि ठूलो चुनौतीको रहेको छ । यो सोचमा परिवर्तन ल्याउन र जनचेतना जगाउन आवश्यक छ ।”

कार्यक्रममा उपप्रमुख खड्काले भन्नुभयो, “सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन नगर सभाद्वारा पारित भई राजपत्रमा आउने क्रममा छ । म पहिलोपटक नगरपालिका आउँदा यहाँको शौचालयको अवस्था राम्रो थिएन । असह्य भएर पानी र डस्टबिनको व्यवस्था गरेँ । अहिले यो मार्गदर्शन पारित गरी सार्वजनिक शौचालयका समस्यालाई सम्बोधन गर्न हामी धेरै उत्साहित छौँ.। अब आउने आर्थिक वर्षमा यसै मार्गदर्शनअन्तर्गत रहेर सार्वजनिक शौचालयको योजना बनाउने छौँ ।”

अधिकांशको संरचना खराब

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार तथा शहरका व्यस्त ठाउँमा सार्वजनिक शौचालय छैनन् । वीर अस्पताल, रत्नपार्क, दरबारमार्ग, नयाँसडक, सुन्धारा, पर्यटकीय क्षेत्र ठमेल, बागबजार, थापाथली नयाँ बानेश्वरलगायत क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा बटुवा सकसमा पर्छन् । गत असोज १२ गते नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको थियो । कार्यकारी प्राविधिक सल्लाहकार अमात्यले भन्नुभयो, “काठमाडौँ उपत्यकामा जनसङ्ख्याको अनुपातमा सार्वजनिक शौचालय एकदमै न्यून छन् । भएका शौचालय नाम मात्रका छन् । महत्वपूर्ण यो क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । अगामी दिनमा शहरी क्षेत्रमा जनसङ्ख्याको चापअनुसार शौचालय निर्माणमा ध्यान जानु जरुरी रहेको छ । ”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार मुख्यगरी शहरी क्षेत्रमा हरेक ५०० जनाका लागि एउटा शौचालय हुनुपर्छ । एक अध्ययनअनुसार काठमाडौँ महानगरमा सरदर २० हजार २८८ जनाका लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ । ३२ वडा रहेको महानगरका १६ वडामा त्यस्ता शौचालय नरहेको बताइएको छ । महानगरमा ५८ मात्र सार्वजानिक शौचालय छन् । तीमध्ये ४९ मात्र कामचलाउ अवस्थामा रहेको छ । प्रयोगमा रहेका ती सार्वजनिक शौचालयमा दैनिक सरदर नौ हजारले दिसा–पिसाब गर्ने गरेको जनाइएको छ ।

विसं २०७५ मा वाटर एड र गुथी नामक संस्थाले काठमाडौँ तथा ललितपुर महानगर र मध्यपुर थिमी तथा कीर्तिपुर नगरपालिकाका सबै ११५ सार्वजनिक शौचालयको अध्ययन गर्दा अधिकांशको सार्वजनिक शौचालयको संरचना खराब रहेको निष्कर्ष निकालेको थियो । लैङ्गिक दृष्टिकोणले सबै शौचालय अनुपयुक्त तथा सुरक्षाको दृष्टिमा ७५ प्रतिशत खराब देखिएको अध्ययनमा संलग्न प्राविधिक सल्लाहकार अमात्यले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter