बुमर सञ्चालनको एक वर्षः अपेक्षा अनुरुप देखिएन सडक सफा

शर्मिला पाठक / काठमाडाैं, फागुन २८ गते । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले बु्रमर सञ्चालन गरेको एक वर्ष हुँदासम्म महानगरको सडकमा धुलो कम भएको छैन । बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहजरूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै पनि सहजरूपमा सञ्चालनको अवस्था छैन । जसले गर्दा यातायातको साधनमार्फत भित्री सडकको धुलो ठूला सडकमा आउँछन् र फोहर देखिन्छन् ।

सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका उक्त यन्त्र प्रयोगमा ल्याइएका हुन् । बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा सडक निर्धारण गरेको छ । सोही रुटअनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहँुदा समस्या भएको बताइएको छ ।

महानगर क्षेत्रमा पर्ने सबै खाल्डाखुलडी पुर्ने काम कामपाको नभएको जनाइएको छ । आठ मिटर कम चौडाका सडक मात्र कामपाको अधिकारभित्र पर्दछ, बाँकी अन्य सडक विभाग मातहतमा पर्दछ । पछिल्लो समय सडक विभागले ठूला सडकको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । सडकको मुख्य स्थान न्यूरोड, रत्नपार्क, जमल, कालिमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी विभागले पुरिरहेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।

स्थानीयवासीको गुनासो

कामपाका नागरिकले भने बु्रमर प्रयोगमा आए पनि सडक सफा नभएको भन्दै गुनासो गरेका छन् । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको एक वर्ष हुँदासम्म शहरमा अपेक्षाअनुरुप धुलो कम हुनसकेको छैन । समस्याजस्ताको तस्तै छ । “यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरिद गर्नुको कुनै अर्थ छैन”, कडेँलले भन्नुभयो ।

भित्री सडकमा ब्रुमर पुगेन

भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहँुदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात बु्रमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ ।

मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा सकारात्मक सुधार आएको छ । सरकारले उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । यद्यपि भित्री र शाखा सडकमा समस्या यथावत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसमेत राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति क्रमशः भएको पाइन्छ । तर साना सडकको मर्मतसम्भारका लागि सम्बन्धित निकायले त्यति ध्यान नदिँदा ठूला सडकमा पनि त्यसको असर परेको कामपाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter