कामपाले हटायो बाह्र हजार प्रचार सामग्री

काठमाडौं, फागुन ३० गते । काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको कामपाले हालसम्मा साना १२ हजार र ठूला ४५ वटा प्रचार सामग्री हटाएको जनाएको छ ।

आगामी चैत सम्ममा नियम बाहिर रही राखिएका सबै प्रचार सामग्री हटाउने गरी काम भइरहेको कामपाको भनाइ छ । पाँच वर्षअघि नै महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शहर कुरुप देखिँदै आएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथलीसम्मका सडक किनारका होर्डिङबोर्ड हटाउने काम सकिएको छ । बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्लीबजारसम्मको पनि प्रचार सामग्री हटाउने कार्य सकिएको छ ।

उहाँले भन्नुभयो, “चालू आवभरिमा महानगरपालिकाभित्रका स्वीकृतिबिना राखिएका सबै विज्ञापन बोर्ड हटाइन्छ ।” अहिले दैनिक चार टोली प्रचार सामग्री हटाउनका लागि निरन्तर लागिरहेका छन् । अहिले ठमेलमा प्रचार सामग्री हटाउने कार्य भईरहेको छ । अबको कही दिनपछि चावहिल, गौशाला र शहरको भित्री क्षेत्रमा राखिएको सामग्री हटाउने तयारी कामपाको छ ।

महानगरका अनुसार दैनिक चार टोलीले दैनिक दुई सय बढीका दरले बोर्ड हटाउने काम भइरहेको छ । नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले मात्र साइनबोर्ड राख्न पाउँछन् । त्यस्तै एक व्यवसायीले एउटा मात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । तर, व्यवसायीले महानगरको नीति कुल्चेर एकभन्दा बढी साइनबोर्ड राख्ने गरेका छन् ।

साइनबोर्डको अधिकतम साइज तीन फिट उचाइ र ३० वर्गफिट तोकिएको छ । बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृतरूपमा ठाडो गरी राख्नुपर्ने समेत नीतिले निर्देशन छ । साथै सपिङ कम्प्लेक्स तथा व्यावसायिक भवनमा छुट्टाछुट्टै साइनबोर्ड नराखी एकै स्थानमा भर्टिकलरूपमा राख्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, घरको भित्ता, पसलमाथि, झ्याल छोपेर सार्वजनिक स्थानमा र छिमेकीलाई असर पर्ने गरी राख्न पाइँदैन । व्यावसायिक प्रचार सामग्रीको सन्दर्भमा डिजिटल राख्नुपर्ने महानगरको भनाइ छ । जसका लागि उचित ठाउँ पहिचान गरेर राख्नुपर्नेछ । सर्वोच्च अदालतले काठमाडौँभित्र होर्डिङबोर्ड नराख्न र राखेको भए हटाउन आदेश दिएको लामो समयपछि महानगरपालिकाले प्रचार सामग्री हटाउने कार्यलाई तीव्रताका साथ अघि बढाएको हो ।

विसं २०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होर्डिङबोर्ड निषेध गरेको थियो । महानगर क्षेत्रमा रहेका व्यावसायिक होडिङबोर्ड, भित्तेलेखन, पोष्टर, पम्प्लेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो ।

साना–ठूला गरी १२ हजार बढी प्रचार सामग्री हटाए पनि महानगरले संस्था तथा व्यक्ति कसैलाई पनि कारवाही गरेको छैन । निकालिएका सबै सामग्री महानगरपालिले जफत गरेको छ भने आगामी दिनमा नराख्न कडा निर्देशन दिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । बढी मात्रामा चावहिल, पुतलीसडक, नयाँबानेश्वर, कोटेश्वर, बागबजार, त्रिपुरेश्वर, कालीमाटीलगायत स्थानमा प्रचार सामग्री राखिएको पाइन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter