आपूर्ति होइन, थुपार्ने बानी समस्या; कुन वस्तुको मौज्दात कति छ त ?

काठमाडौँ, चैत ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ । यो बेला सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन, त्यसैले निजी व्यापारी उद्योगी, उपभोक्ता अधिकारकर्मी र स्वयं उपभोक्ता सबैको साथ र सहयोग चाहिएको छ । यो सङ्कट राज्यले जुनसुकै हालतमा पनि टार्छ भन्नुभयो ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टले सो कुरा बताउनुभएको हो ।

सङ्कटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न आमउपभोक्तालाई आग्रह गर्दै उहाँले सङ्कटका बेला काम गरेन भनेर सरकारी निकायलाई आरोप लगाउनुभन्दा कालोबजारी भएको देख्नेबित्तिकै सरकारका जिम्मेवार निकायमा सूचना गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नसमेत आग्रह गर्नुभयो ।

अहिलेको सङ्कटका बेला उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयको काँधमा बढी जिम्मेवारी रहेको भन्दै मन्त्री भट्टले अहिले आफू र कर्मचारी २४ घण्टे ड्युटीमा रहेको पनि दाबी गर्नुभयो । उहाँले कर्मचारीलाई दिनरात नभनी जुनसुकै बेला खटिनुपर्छ भनेको छु भन्नुभयो ।

मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले कुनै पनि वस्तु अभाव नहुने गरी नेपालमा पर्याप्त मौज्दात गरिएकाले अनावश्यक होल्डिङ नगर्नसमेत आमनागरिकलाई आग्रह गर्नुभयो । बजारमा अभाव सिर्जना हुने गरी बिक्री वितरणमा असहज स्थिति पैदा गराउनेलाई कानुन अनुसार कारबाहीको दायरमा ल्याइनेछ । उहाँले नेपालमा अत्यावश्यक कुनै पनि वस्तु अभाव हुँदैन, ती वस्तुको मौज्दात छ भन्नुभयो ।

सो मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले बजारमा अहिले दैनिक उपभोग्य वस्तु सामान आयात नभएर वा आपूर्ति पर्याप्त नभएरभन्दा पनि उपभोक्ताले चाहिने भन्दा बढी सञ्चय गरेर सिर्जना भएको हो भन्नुुभयो ।

उहाँका अनुसार मन्त्रालयले अहिले अति आवश्यक वस्तुको सूची बनाउँदैछ । यसमा आयात हुने मुलुकबाट हामीलाई प्राप्त हुने वस्तु के–के हुन् र हामीले निर्यात गर्ने वस्तु के–के हुन् भन्ने अध्ययन गर्दैछ । अति आवश्यकीय वस्तुको आवश्यकता, उपलब्धता र वितरण प्रणाली सुधार ल्याउने गरी मन्त्रालयले काम गरिरहेको केही दिनमै यसको परिणाम देखिने उहाँको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोर, चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपककुमार मल्होत्राले उपभोक्ता सचेत भएर अनावश्यक सामान होल्ड नगरेको खण्डमा बजारमा कुनै पनि सामानको अभाव नभएको स्पष्ट पार्नुभयो ।

कुन वस्तुको मौज्दात कति छ त ?

चामल, दाल छ महिनालाई पुग्ने छ भने ग्यास एक महिनालाई, नुन, चिनी १० महिना बढीलाई पुग्ने छ । पेट्रोलियम पदार्थ नौ दिनलाई पुग्ने गरी ६८ हजार ३६४ केएल मौज्दात छ । यी वस्तु उत्पादन र आयातमा समेत कुनै समस्या नरहेको सरकारको दाबी गरेको छ । त्यसैगरी मास्क र ह्यान्ड सेनिटाइजर नेपालमा केही अभाव तथा महँगो भएकाले यस्ता वस्तुको पनि उत्पादन बढाएर बिक्री वितरणलाई व्यवस्थित बनाउन थालिएको सरकारको दाबी छ । उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ भन्ने नाराका साथ मनाइएको विश्व उपभोेक्ता दिवसका विभिन्न कार्यक्रम मनाइयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter