‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने’

काठमाडौँ, असार ३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९÷८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्र्याक लगायतका सडक आयोजनालाई सरकारले महत्व दिएर बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । सडकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कस्ता आयोजना आवश्यक छ भनी पहिचान गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सडकका नयाँनयाँ क्षेत्रका पहिचान गरेर बजेट विनियोजन गरिएको छ ।”

त्यस्तै, मन्त्रालयले त्रिदेशीय महत्व राख्ने ‘रोड कनेक्टिभिटी’ लाई पनि अघि बढाउने लक्ष्य लिएको मन्त्री नेम्वाङले बताउनुभयो । विगतमा निर्माण शुरु भएका ठूला सडकलाई आवश्यक रकम विनियोजन गरेर अघि बढाइएको र भौतिक पूर्वाधारको नयाँ क्षेत्र पहिचान गर्दै सुरुङमार्गको निर्माण थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले अहिले नागढुङ्गा, सिद्धबाबालगायत नौ सुरुङ मार्गको निर्माण, सम्भाव्यता अध्ययन पहिचान, डिपिआरका लागि बजेट विनियोजन गरेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग कांकडभिट्टादेखि गड्डाचौकी कम्तीमा चार लेन स्तरोन्नति निर्माण शुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । यसका लागि लगानी सुनिश्चित गरेर निर्माण थालिएको बताइएको छ ।

यातायातको नयाँ क्षेत्रका रुपमा रेल आयोजना सञ्चालन शुरु गरिएको पनि मन्त्री नेम्वाङले बताउनुभयो । विद्युतीय रेलमार्ग यो मुलुकमा अपरिहार्य छ भनेर कांकडभिट्टा–गड्डाचौकी निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । छिमेकी मुलुक चीन र भारतसँगको समन्वयमा काठमाडौँ–रक्सौल र केरुङ–काठमाडौँ रेलमार्ग अघि बढेको उहाँले बताउनुभयो । जयनगर–जनकपुर निर्माण अघि बढाएकोसमेत उहाँले जानकारी दिनुभयो । आगामी आवमा झण्डा फहराएर जयनगर जनकपुर रेल सञ्चालन गर्न कार्यक्रम साथ अघि बढेको मन्त्री नेम्वाङले बताउनुभयो । गत आवमा कांकडभिट्टादेखि बुटवालसम्म पहिलो खण्ड विद्यतुतीय रेलमार्ग निर्माण अघि बढाइएको र यो आर्थिक वर्ष पनि कांकडभिट्टादेखि इनरुवासम्म रेलमार्ग निर्माणको काम थालनी गर्ने उहाँले सो अवसरमा जानकारी दिनुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “त्यसका लागि कार्यक्रमसहित उपयुक्त बजेट विनियोजन गरिएको छ ।”

कतिपय सांसदले मन्त्रालयले बजेट कम भएको भन्ने जिज्ञासामा उहाँले कोरोनाको कारण समग्र बजेट कम भए पनि कार्यक्रम राख्दा विगतदेखि जारी आयोजनलाई निरन्तरता दिने प्रयास गरिएको बताउनुभयो । विगतदेखि जारी कतिपय साना आयोजनालाई चालू आवमा पनि जारी राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती आयोजनाले प्रदेश र स्थानीय तहको पनि अघि सारेको विकासलाई सहयोग पुग्छ भन्ने विश्वास गरिएको छ ।”

महाकाली करिडोर टिङ्करसम्म सम्पन्न गर्नका लागि विगत वर्षभन्दा एक पैसा पनि कम नगरिएको मन्त्री नेम्वाङको भनाइ थियो । सो सडकमा ट्र्याक खोल्ने काम नेपाली सेनालाई जिम्मा दिइएको छ । विगतमा ट्र्याक खोलिएकामा सडकको स्तरोन्नति थालिएको छ ।

त्यस्तै, मन्त्रालयले कर्णाली प्रदेशका डोल्पाको दुनै र हुम्लाको सिमीकोट सम्पन्न गर्नुपर्छ भन्ने लक्ष्य लिएको छ । यो सडकलाई कोरोनाले असर गरेकाले आगामी वर्ष बाँकी एक जिल्लामा सडक पु¥याइने उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङले क्षेत्रीय भौगोलिक समानुपातिक रुपमा आयोजना राखिनुपर्ने कुरालाई ध्यान दिएर विगत वर्षमा छुटेको तराई मधेश सडक पूर्वाधार कार्यक्रमलाई आगामी आवमा समावेश गरिएको बताउनुभयो । यो आवबाट १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन क्षेत्र सडक निर्माण कार्यक्रम सञ्चालन हुनेछ । एउटा निर्वाचन क्षेत्रबाट अर्काे क्षेत्र र एउटा जिल्लाबाट अर्काे जिल्ला जोड्ने गरी रणनीतिक सडक निर्माणलाई अघि बढाइएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि तीन अर्ब २० करोड विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सडकले त्यहाँको कृषि उपज, उत्पादन, उद्योगलगायत धेरै क्षेत्र समेट्छ ।”

अहिले देशभर एक हजार पाँच सय पुल निर्माणाधीन रहेकामा तिनको निर्माण एकै वर्षमा सम्पन्न गर्न नसकिने उहाँले बताउनुभयो । कतिपय सांसदले सडक पुलका लागि पर्याप्त रकम विनियोजन नभएको र आफ्नो क्षेत्रमा नपरेको प्रश्न राख्नुभएकोमा उहाँले यी पुलको निर्माण सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । बजेटको अभाव, निजी व्यवसायीको क्षमता अभावका कारण पुल निर्माणको ‘रिस्ट्रक्चरिङ’ गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । गत आवमा सडक र पुल मर्मत सुधारमा अपेक्षित काम भएकामा कोरोनाले त्यसलाई बाधा पु¥याएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter